इरानसँग वार्ता गर्न ट्रम्पद्वारा अस्वीकार

रोएटर्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता गर्ने कुनै योजना नभएको बताएका छन् । उनले इरानसँगको युद्ध तेहरानको सैन्य संरचना ध्वस्त भई नेतृत्व नै समाप्त भएपछि मात्र अन्त्य हुन सक्ने संकेत दिएका छन् ।

एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले निरन्तर हवाई आक्रमणका कारण इरानको सैन्य शक्ति पूर्ण रूपमा नष्ट हुन सक्ने र सम्भावित सबै नेताहरू मारिन सक्ने बताए । ‘कुनै समय यस्तो पनि आउन सक्छ, जहाँ ‘हामी आत्मसमर्पण गर्छौं’ भन्ने व्यक्ति नै बाँकी नरहला,’ ट्रम्पले भने । यसैबीच अमेरिका–इजरायल र इरानबीचको युद्ध दोस्रो सातामा प्रवेश गरेको छ । दुवै पक्षले एकअर्कामाथि व्यापक आक्रमण गरेका छन् ।

इरानका राष्ट्रपति मसउद पेजेस्कियानले छिमेकी देशहरूमा रहेका अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण परेको असरप्रति माफी मागेका छन्। उनले ती देशहरूलाई अमेरिका–इजरायलको आक्रमणमा सहभागी नहुन आग्रह पनि गरेका छन् ।

तर ट्रम्पले गरेको ‘निःसर्त आत्मसमर्पण’ को मागलाई पेजेस्कियानले ‘सपना मात्र’ भएको बताएका छन् । उता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको इस्लामिक रिभोल्युसनरी गार्डका सदस्यहरूले हतियार छाड् उनीहरूलाई क्षति नपुर्याइने बताएका छन् ।

युद्ध फैलिँदै जाँदा लेबनानमा पनि इजरायलले हवाई आक्रमण तीव्र बनाएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म करिब ३०० जनाको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *