बेइजिङ । चीनमा सन् २०२५ मा आन्तरिक पर्यटनले नयाँ कीर्तिमान कायम गरेको छ । चीनका संस्कृति तथा पर्यटन मन्त्री सुन ये लीले पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् ।
उनकाअनुसार चिनियाँ नागरिकहरूले गरेको आन्तरिक यात्रा सङ्ख्या र पर्यटन खर्च दुवै ऐतिहासिक उच्च स्तरमा पुगेका छन् ।
फेब्रुअरी १५ देखि २३ सम्म मनाइएको नौ दिने वसन्त चाड (स्प्रिङ फेस्टिभल) बिदाका क्रममा मात्रै चीनभर ५९ करोड ६० लाख आन्तरिक यात्रा गरिएको थियो । सो अवधिमा पर्यटन खर्च ८०० अर्ब युआनभन्दा बढी पुगेको बताइएको छ, जसले पर्यटन क्षेत्रमा नयाँ रेकर्ड कायम गरेको मन्त्री सुनले बताए ।
त्यस्तै, सन् २०२५ को पूरै वर्षभरि चिनियाँ नागरिकहरूले एक अर्ब ५० करोडभन्दा बढी आन्तरिक यात्रा गरेका छन् । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले बढी हो । यसैगरी, सो वर्ष चीनको आन्तरिक पर्यटन खर्च ६.३ लाख करोड युआन पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९.५ प्रतिशतले वृद्धि भएको हो ।
मन्त्री सुनका अनुसार चीनमा पर्यटन क्षेत्र तीव्र रूपमा विस्तार भइरहेको छ र आन्तरिक यात्रामा आएको वृद्धि देशको आर्थिक गतिविधि र सेवा क्षेत्रमा सकारात्मक संकेतका रूपमा हेरिएको छ । उनले पर्यटन क्षेत्रलाई थप विकास गर्न सरकारले विभिन्न नीति तथा कार्यक्रममार्फत प्रवद्र्धन गरिरहेको पनि बताए ।
