काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर एकबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । उनी १५ हजार ४५५ मत प्राप्त गरी निर्वाचित भएकी हुन् ।
उनले कुल १५ हजार ४ सय ५५ मत प्राप्त गरिन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३ सय ६४, राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ३ हजार ९ सय ७२, नेकपा एमालेका मोहनराज रेग्मीले १ हजार ६ सय १८, उज्यालो नेपाल पार्टीका मंग लाल श्रेष्ठले ४ सय ६६, श्रम संस्कृति पार्टीका समिर लामा तामाङले ४ सय २६ र नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले ३ सय १५ मत प्राप्त गरे । अन्य उमेदवारले १ सय मतको आकडा छुन सकेनन् ।
रञ्जु २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकी थिइन् । उनी निर्वाचनमा पराजित भइन् ।
उनले निर्वाचनमा २३ हजार मत ल्याएकी थिइन् । त्यसपछि २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं–५ बाट उम्मेदवारी दिएकी थिइन् । उनी यो निर्वाचनमा पनि पराजित भएकी थिइन् । तेस्रो पटकको प्रयासमा उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् ।
