काठमाडौं । प्रतिनिधि सभा निर्वाचन-२०८२ को विभिन्न स्थानमा मतगणना भइरहेको छ । हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले एकलौटी अग्रता लिएको छ ।
चितवनको तीन मध्ये दुई क्षेत्रमा मतगणना चल्दा रास्वपाका सभापति रवि लामिछाने र युवा नेत्री सोविता गौतमले अग्रता लिएका छन् । ताजा अवस्थामा चितवन-२ मा रास्वपाका रवि लामिछानेले २ हजार २५ मतसहित शीर्ष स्थानमा रहेका छन् । उनलाई नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अस्मिन घिमिरे १ हजार ६१, नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरुङ र नेपाली कांग्रेसकी मिना कुमारी घरेल ५ सय ३१ मतसहित पछ्याइरहेका छन् ।
चितवन-३ मापनि रास्वपाको अग्रता जारी रहेको छ । हालसम्म रास्वपाकी सोविता गौतमले ९ सय २५ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीकी रेणु दाहालले ६ सय ६९ मत पाएकी छिन् । नेकपा एमालेका शंकर राज थपलियाले २ सय २, नेपाली कांग्रेसका टेक प्रसाद गुरुङले १ सय २९, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का दिपक थापा(मगर)ले २२, नेपाल कम्युनिस्ट पार्टी(माओवादी)का आशिक प्रसाद महतोले ११, श्रम सस्कृति पार्टीका तोजमान गुरुङले ५, उज्यालो नेपाल पार्टीका डम्बर बहादुर तामाङले ४, नेपाल कम्युनिष्ट पार्टी(संयुक्त)का जित बहादुर वि.क.ले ३ र प्रगतिशील लोकतान्त्रिक पार्टीका बुद्धि राज तामाङले २ मत पाएका छन् ।
यता भक्तपुरमा पनि रास्वपाका राजिव खत्रीले महेश बस्नेतलाई ७१९ ले पछाडि पारेका छन् । हालसम्म राजीवले २ हजार मत प्राप्त गर्दा नेकपा एमालेका महेश बस्नेतले १ हजार २ सय ८१, नेपाली कांग्रेसका कविर राणाले १ सय ७४, नेपाल मजदुर किसान पार्टीका रेशम बैधले १ सय ३९ र उज्यालो नेपाल पार्टीका जित रमा लामाले ३८ मत प्राप्त गरेका छन् ।
यस्तै काठमाडौं-३ मा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङपनि १ हजार ८ सय ४६ मतले पछाडि रहेका छन् । हालसम्म रास्वपाका राजुनाथ पाण्डे २ हजार ९ सय ६०, उज्यालोका कुलमान घिसिङले १ हजार ८ सय ४६, नेपाली कांग्रेसका रमेश अर्यालले ५ सय ८३ र नेकपा एमालेका रामेश्वर फुयालले ४ सय ५६ मत ल्याएका छन् ।
