काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका दुई उम्मेदवार गएराति पक्राउ परेका छन् । सिरहा ३ का जनता समाजवादी पार्टी नेपालका उम्मेदवार नगद सहित र पर्सामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार सवार गाडीमा शंकास्पद वस्तु भेटिएपछि पक्राउ परेका हुन् ।
गैरकानुनी गतिविधि गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं ३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधिमा यादव नगदसहित पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र२–०२–००१च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२ः३० बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा रोकिएको थियो । जाँचका क्रममा गाडीबाट रु चार लाख ८७ हजार नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।
नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने थप कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको जिल्ला प्रनाउ पालले जानकारी बताए । यादव तत्कालीन सङ्घीय समाजवादी फोरमबाट २०७४ स्थानीय तह निर्वाचन सिरहा नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।
त्यसैगरी, पर्साको पर्सागढी नगरपालिका–३ बडनियार चोकमा जाँचको क्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उमेदवार सवार गाडीमा शंकास्पद वस्तु फेला परेको छ । प्रहरीका अनुसार राति करिब ११ बजे जाँचका क्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट पर्सा क्षेत्र नम्बर–२ मा उम्मेदवार रहेका मनोजकुमार चौधरी सवार गाडीको डिक्कीमा शंकास्पद वस्तु भेटिएको हो ।
उनले प्रयोग गर्ने बा १० च १२५० नम्बरको गाडी भित्र टिनको बाक्सामा खैरो टेपले बेरिएको, कालो र रातो तार बाहिर निकालिएको अवस्थामा शंकास्पद वस्तु देखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । प्रहरीले उम्मेदवार मनोज कुमार सहित गाडीमा सवार चार जनालाई राति नै नियन्त्रणमा लिएको छ ।
