इरानी धर्मगुरुको शासनलाई हटाउने दिन नजिकिँदै छः नेतान्याहु

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानविरुद्ध अमेरिका–इजरायलको संयुक्त अभियानको उद्देश्य इरानीहरूलाई उनीहरूको धार्मिक नेतृत्वलाई हटाउने अवस्था सिर्जना गर्नु रहेको बताएका छन् ।

इरानी मिसाइलद्वारा प्रहार गरिएको इजरायली घटनास्थलको भ्रमण गरेपछि सञ्चारमाध्यमसँग गरेको कुराकानीमा प्रधानमन्त्री नेतन्याहुले भने, ‘त्यो दिन नजिकिँदै छ, र जब यो आउँछ, इरानी जनतासँग इजरायल र संयुक्त राज्य अमेरिका त्यहाँ साथमा हुनेछन् । इरानी जनता हामीसँग हुनु महत्त्वपूर्ण छ । उनीहरूले चाहेमा हामी त्यहाँ हुनेछौँ ।’

इजरायल र संयुक्त राज्य अमेरिकाले शनिबार इरानमा आक्रमण गरेपछि पहिलोपटक इरानबारे बोल्दै नेतान्याहूले भने, ‘इरानीहरूले ‘निरंकुशताको खेल त्याग्ने’ समय आएको छ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनीहरूलाई ‘आफ्नो देश फिर्ता लिन’ भनेका छन्।’

यसैबीच तेहरानबाट प्राप्त समाचार अनुसार, इरानले अमेरिका र इजरायलले गरेको संयुक्त आक्रमणपछि जवाफी आक्रमण गरिरहेको बताएको छ ।

अहिलेसम्म मध्यपूर्वमा संयुक्त राज्य अमेरिका र इजरायलसँग सम्बन्धित ५०० स्थलहरूलाई लक्षित गरी आक्रमण गरिएको रिभोलुसनरी गाड्र्सले युद्धको तेस्रो दिन सोमबार जानकारी गराएको हो ।

‘द्वन्द्व सुरु भएयता इरानी सैनिकहरूले ६० वटा रणनीतिक लक्ष्य र ५०० अमेरिकी सैन्य लक्ष्यमा आक्रमण गरेका छन्,’ गाड्र्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ । गाड्र्सले जारी पछिल्लो द्वन्द्वमा ७०० भन्दा बढी ड्रोन र सयौँ क्षेप्यास्त्र प्रक्षेपण गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *