काठमाडौं । नेपाली कांग्रेसले आगामी बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनबाट आफ्नो दल पहिलो बन्ने प्रक्षेपण गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले निर्वाचनबाट कांग्रेस पहिलो दल बनेर आउने दाबी गरेका हुन् ।
निर्वाचन प्रचारका कार्यक्रममा पार्टीका नेता कार्यकर्ताको र समर्थकको उपस्थिति र उत्साहबाट कांग्रेस पहिलो दल बन्ने बाटोमा रहेको स्पष्ट रहेको बताए ।
उनले भने, ‘फागुन २१ गतेको निर्वाचनबाट नेपाली कांग्रेस सबैभन्दा ठूलो दलका रुपमा आउँदै छ । प्रत्यक्ष र समानुपातिक दुवैमा सबभन्दा ठूलो दल बन्दैछ । कुनै पनि दोस्रो दलभन्दा धेरै अगाडि हुन्छौँ ।’ उनले मतदाताले २०६४ को निर्वाचनको गल्ती दोहोर्याउन नहुने भन्दै अहिले देशलाई २०७० को झैँ विवेक चाहिएको बताए ।
उनले भने, ‘नयाँ हेर्ने भन्ने नाममा ०६४ को गल्ती देशले दोहोर्याउनुहुन्न, आज देशलाई ०७० को झैँ विवेक चाहिएको छ । आँधी आएको बेला सिकारुले नाउ चलाए फेवातालमा नाउ डुब्न सक्छ भन्ने परिपक्वता हामीले राख्नु छ ।’
उपसभापति शर्माले अहिले देशलाई अनुभवसँगै ऊर्जा, ऊर्जासँगै नयाँ भिजन, भिजन सँगै टिम स्पिरिट अनि टिम स्पिरिटसँगै संयम भएको नेतृत्व चाहिएको बताए । उनले त्यस्तो नेतृत्व कांग्रेस सभापति गगन थापासँग मात्रै रहेको बताए ।
