तेहरान । इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि वासिङ्टन र तेहरानबीच मध्यस्थता गर्न इन्डोनेसियाको प्रस्तावको तेहरानले स्वागत गरेको जकार्तास्थित इरानी दूतावासले जनाएको छ।
इन्डोनेसियाको विदेश मन्त्रालयले शनिबार राष्ट्रपति प्रबोवो सुविआन्तो दुवै पक्षको सहमतिमा मध्यस्थता गर्न तेहरान जान इच्छुक रहेको बताएको छ ।
इरानी दूतावासले ‘यस द्वन्द्वमा मध्यस्थता गर्न गणतन्त्र इन्डोनेसियाका राष्ट्रपतिको तत्परता’ को स्वागत गर्दछ, इन्डोनेसियास्थित इरानी नियोगले विज्ञप्ति जारी गरी जानकारी गराएको छ।
दूतावासले ‘संयुक्त राज्य अमेरिका र इजरायलको यहुदी शासनको आक्रामकता र अपराधको निन्दा गर्न इन्डोनेसियाली अधिकारीहरूको कडा अडान लिनुपर्ने महत्त्वमा पनि जोड दिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या भएको यसअघि नै पुष्टि गरेका थिए । संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार इरानी लक्ष्यहरूमा हवाई आक्रमणको श्रृङ्खला सुरु गरेपछि इरानले पनि मध्यपूर्वमा रहेका उसका ‘विरोधी’को सैन्य शिविर र अन्य भौतिक संरचनामा आक्रमण गरिरहेको छ।
इरानले अमेरिका र इजरायली आक्रमणको बदला लियो भने वासिङ्टनले इरानमाथि यसअघि कहिल्यै नदेखिएको शक्तिशाली प्रहार गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन् ।
