वाम आन्दोलन समाप्त पार्ने षड्यन्त्र भइरहेको छः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले वाम आन्दोलन समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै त्यसको प्रतिरोधका लागि क्रान्तिकारी कम्युनिस्ट तथा देशभक्त शक्तिहरूको पुनर्गठन आवश्यकता रहेको बताएका छन् ।

निर्वाचनका सन्दर्भमा आइतबार भिडियो सन्देश जारी गरी प्रचण्डले हाल नेपाली कम्युनिस्ट पार्टीका रूपमा पुनर्गठनको प्रक्रिया अघि बढाइएको र २५ भन्दा बढी कम्युनिस्ट तथा समाजवादी समूहहरू मिलेर नयाँ र देशभक्त शक्ति निर्माण भएको बताएका हुन् ।

उनले नेपाली कम्युनिस्ट पार्टी वाम आन्दोलनको केन्द्र भएको उल्लेख गर्दै एमालेसमेत अन्ततः वाम आन्दोलनको केन्द्र नेकपामै मिसिनुपर्ने बताए । उनले एकातिर जनताको आक्रोश र निराशालाई भड्काएर अराजकतातिर धकेल्ने प्रवृत्ति र अर्कोतर्फ दलाल–बिचौलियाको स्वार्थमा टिकेको यथास्थितिवाद देशका लागि चुनौती बनेको उल्लेख गरे ।

उनले सडक र सदनबाट खबरदारी गर्दा पनि ओली सरकार नसुध्रिएकाले कुशासनका कारण देश अराजकताउन्मुख बनेको प्रचण्डले बताए । उनले भने, ‘यी दुवै अतिवादसँग जुधेर देश जोगाउन सक्ने शक्ति वाम आन्दोलन मात्रै हो। अन्ततः एमाले वाम आन्दोलनको केन्द्रका रूपमा पुनर्गठित आफ्नै पार्टी (नेकपा) मा मिसिनैपर्छ।’

प्रचण्डले आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध कठोर कदम चालेको बताए । उनले भ्रष्टाचार अन्त्य, माफिया र बिचौलियाको जालो तोड्ने तथा कानुनभन्दा माथि कोही नहुने व्यवस्था स्थापित गर्ने आफ्नो एजेन्डा रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *