काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब देश निर्माण वा विध्वंसको बाटो रोज्ने कित्ता स्पष्ट गर्ने बेला आएको बताएका छन् । आइतबार भिडियो सन्देश जारी गरी अध्यक्ष ओलीले अहिलेको चुनाव पार्टी–पार्टीबीचको नभई जलाउने र बनाउनेबीचको भएकाले आममतदाताले एउटा बाटो रोज्नुपर्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘आज हामीलाई संविधान नहिल्लने, अधिकार नकुल्चिने ग्यारेन्टी चाहिएको छ । त्यही कारण देश पहिले भावना चाहिएको छ । आज हामीलाई आफ्नो स्वाभिमान नझुक्ने, ग्यारेन्टी चाहिएको छ । अहिलेको चुनाव पार्टी–पार्टीबीचको चुनाव होइन, यो त जलाउने र बनाउनेमध्ये को रोज्ने ? भन्ने चुनाव हो ।’
उनले यस्तो अवस्थामा हुन गइरहेको चुनावमा नेपाली जनताले स्पष्ट कित्ताकाट गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘अब स्पष्ट कित्ताकाट गर्ने बेला आएको छ । यतिबेला तपाईँले आफू कुन कित्तामा हो भनेर स्पष्ट पार्नुभएन र त्यसको लागि बोल्नुभएन भने इतिहासले होइन, तपाईं आफैँले आफैँलाई कहिल्यै माफ गर्नु हुने छैन ।’
