सुदूरपश्चिम पुगेर विश्वप्रकाशले भनेः देउवालाई सम्मान, गगनलाई शासन

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा अब पार्टीको अभिभावक रहेको बताएका छन् । सुदूरपश्चिममा कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले देउवा पार्टीको अभिभावक भएको भन्दै सम्मान रहेको उल्लेख गरे ।

अछामका साँफेबगर र कमल बजारमा आयोजित दुवै क्षेत्रका अलग अलग स्थानमा आयोजित सभालाई सम्बोधन गर्दै शर्माले निवर्तमान सभापति शेरबहादुर देउवा अब पार्टीको अभिभावक रहेको र गगन थापा नयाँ सभापति बनेको यथार्थ सुदूरपश्चिमले आत्मसात् गरेर नवीन ऊर्जा विकास गर्ने विश्वास प्रकट गरे ।

उनले भने, ‘देउवालाई सम्मान, गगनलाई शासन यही नै अहिलेको आवश्यकता र यथार्थ हो । पार्टीका उम्मेदवार र रूख चिन्हलाई विजयी गराउन वर्तमान र निवर्तमान दुवै नेतृत्वको उत्तिकै दायित्व रहेको छ ।’

सुदूरपश्चिमकै माटोबाट उदाएर राष्ट्रको नेतृत्व गरिसकेका नेताको यो क्षेत्रले फागुन २१ को चुनावबाट तुलनात्मक रूपले अरु प्रदेशमा भन्दा बढी राम्रो परिणाम दिएर इतिहास कायम गर्नुपर्ने आह्वानसमेत उपसभापति शर्माले गरे ।

शनिबार गण्डकी प्रदेशको पोखराबाट लुम्बिनीको गुल्मी र कर्णाली प्रदेश डोल्पाको चुनावी सभामा सहभागी भएर उपसभापति शर्मा सुदूरपश्चिम पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *