म्याग्दी । अन्नपूर्ण गाउँपालिका–१ भिरकाटेदेखि दोवा जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्यअघि नै सम्पन्न भएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरेको भिरकाटे–दोवा सडक स्तरोन्नति योजनाका लागि गत पुस महिनामा भण्डारी निर्माण सेवाले रु ६५ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
आगामी चैतसम्म ठेक्काको म्याद रहेको योजना लक्ष्यभन्दा एक महिनाअघि नै सम्पन्न भएको हो । सम्झौतालगत्तै पुसदेखि काम थालेको निर्माण कम्पनीले दुई महिनामै योजना सम्पन्न गरेको वडासदस्य बिर्खबहादुर गर्बुजाले बताए ।
बगरदेखि सुनारीटोल खण्डको अप्ठ्यारो ठाउँमा सडक स्तरोन्नति भएको हो । योजनामार्फत हाल तीनदेखि चार मिटर फराकिलो सडकलाई छ मिटरका दरले फराकिलो बनाएर, नाली, पर्खाल निर्माण, ३४० मिटरमा ढलान र ६० मिटर ग्राभेल गरिएको अन्नपूर्ण गाउँपालिकाका प्राविधिक गौरव भट्टले बताए ।
निर्माण कम्पनीका प्रतिनिधि मनोज भण्डारीले पर्याप्त उपकरण, मजदुर परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्यअघि नै योजना सम्पन्न गरेको बताए । यो सडक मार्ग खुलेको १७ वर्षपछि स्तरोन्नति थालिएको हो ।
विसं २०६६ मा स्थानीयवासीले करिब रु एक करोड चन्दा स¬ङ्कलन गरेर भिरकाटेदेखि दोवा जोड्ने आठ दशमलव दुई किलोमिटर दूरीको सडकको मार्ग खोलेका थिए । मार्ग खुलेदेखि हालसम्म सामान्य मर्मतका भरमा जिप, ट्रयाक्टर र मोटरसाइकलमात्र सञ्चालन हुँदै आएको साँघुरो, ग्रेड र घुम्ती नमिलेको सडकलाई अन्नपूर्ण गाउँपालिकाले स्तरोन्नति थालेको हो ।
भिरकाटेस्थित कालीगण्डकी नदीमा मोटरेबल पुल बन्नुअघि नै ट्रयाक खुलेको भिरकाटे–दोवा सडकमा यसपालि हालसम्मकै धेरै बजेट विनियोजन भएको हो । वडासदस्य गर्बुजाका अनुसार तत्कालीन जिविसको रु १० लाख अनुदानका साथै गाउँले, पोखरा, काठमाडौँ र विदेशमा बस्ने दोबावासीले रु ९१ लाख चन्दा सहयोग जुटाएर सडक निर्माण गरिएको थियो ।
गत वर्ष रु ३० लाखबाट मारका क्षेत्रमा सडक स्तरोन्नति गरेको गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु २५ लाख विनियोजन गरेर योजनालाई निरन्तरता दिएको छ । सडक स्तरोन्नति भएपछि दोवाका तीन सय घरपरिवार लाभान्वित हुनेछन् ।
भिरकाटे–दोवा सडकलाई प्राथमिकताप्राप्त आयोजनामा समेटेर गाउँपालिकाले आगामी वर्षको बजेटमा निरन्तरता दिनुका साथै सङ्घीय र प्रदेश सरकारसँग पनि थप बजेट माग गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।
