-नारायण पौडेल ।
राजनीतिमा एकपछि अर्को टाइम बम प्रयोग भैरहेको छ ! टाइम सेटिङ पर्फेक्ट छ । केही दृष्टान्त :
–भरे भोलि नै पक्राउ गरिँदैछ भन्ने ‘टाइम बम’ प्रयोग गरी देउवा दम्पत्तिलाई टाइममै बालकोट नपुगे खैरियत छैन भन्ने पारिनु । जानकार स्रोतका अनुसार देउवा दम्पत्ति पक्राउ गर्ने कुनै योजना थिएन, नक्कली योजनाका कारण आतंकित देउवालाई रातारात बालकोटले बोलाउनु ।
–ओली नेतृत्वको सरकार गठन भएसककगै रविमाथि धरपकड हुनु । मध्यरातको टाइममा अड्डासार गरिनु । उही टाइममा उस्तै मुद्धाका अभियुक्तलाई अभियोजनकर्ता निकाय र अदालतसमेतबाट खुकुलो वातावरण बनाइनु । कन्ट्राष्ट र कम्पेयरको माहोल तयार हुनु ।
–ओली चीन भ्रमण जानु । बीआरआईमा सहमति जनाउनु । भारत भ्रमणमा जाने भनिएको टाइम नजिकदै गर्दा देश उथलपुथल उन्मुख हुनु ।
–एकातिर सामाजिक सञ्जाल नियमनमा नआइञ्जेललाई बन्द गर्ने सरकारी निर्णय, अर्कोतिर बन्द गरिएको भनिएको सामाजिक संजालमार्फत केपी ओलीलगायतका नेताहरुको पोष्ट । एकै टाइम दुई विपरित एक्सन !
–पार्टीको विधान अधिवेशनमा जाँदै गरेका बहालवाला प्रदेश मन्त्रीले चढेको गाडीले किशोरीलाई धक्का दिनु । आमरुपमा आक्रोश बढिरहेको टाइममा मन्त्रीको बचाउमा प्रधानमन्त्री ओलीले उग्र अभिव्यक्ति दिनु । एकातिर एमालेको अधिवेशनले ओलीलाई थप शक्तिशाली बनाउनु, अर्कोतिर ओली बिरुद्ध आम आक्रोश बढ्नु ।
–बानेश्वरसम्म सुरक्षा तैनाथी फितलो बनाइनु । संसद भवन तोडफोड हुन थालेपछि गोलीको बर्षा हुनु । माइतीघर र बानेश्वरको बीचमा आन्दोलनकारीलाई रोक्नुको साटो, सम्बन्धित निकायले टाइम किल गर्नु । टाइममा समन्वय नगर्ने, टाइम घर्केपछि अत्यधिक बल प्रयोग गर्ने ।
–’वेटिङ प्राइममिनिष्टर’ देउवाको उद्दार टाइममा नगरिनु । देउवा दम्पत्ति माथिको राम धुलाइ देखाएर ओलीलाई राजीनामाका लागि बाध्य पारिनु ।
–स्थिति तत्काल नियन्त्रणमा लिन तैनाथ हुनुपर्ने सेना सेनापतिको वक्तव्यअनुरुप राति १० बजेसम्मको टाइम तोकेर निष्क्रिय प्रायः रहनु । देश चरम संकटमा परेका बेला राष्ट्रलाई सम्बोधन गर्ने जिम्मेवारीमा रहेका राष्ट्रपतिलाई नेपथ्यमा राखेर सेनापतिले देशबासीलाई सम्बोधन गर्नु ।
–भदौ २३ र २४ आन्दोलनको टाइमसम्म नेतृत्वबिहीन देखिएको आन्दोलनले सेनापतिको सक्रियता लगत्तै नेता पाउनु । आन्दोलनकारीका तर्फबाट कतै उच्चारण नै नभएको संसद विघटनको एजेण्डा सेनाले स्थिति नियन्त्रणमा लिएपछि बालेनमार्फत सामाजिक संजालमार्फत अघि सारिनु । सेनापतिले सोही एजेण्डा लागू गराउन अन्तिम घडीसम्म राष्ट्रपतिलगायत सरोकारवालालाई मनोवैज्ञानिक दवाव दिनु ।
–ओली अध्यक्षमा तेहेरिएकै दिन रवि थुनमुक्त हुनु । यसअघि बिगो बराबरको रकम बुझाएर छुट्न पाउँ भनि निवेदन दिँदा पनि अदालतले इन्कार गर्नु । प्रधानमन्त्रीका ‘जेठो छोरा’ ले कारागारमा पुगी रविलाई भेटेको केही टाइम पछि धरौटीमा छुट्नु ।
– कांग्रेसमा सर्जिकल स्ट्राइक भएकै दिन रविको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धि अभियोग फिर्ता लिने निर्णय महान्यायाधिवक्ताको कार्यलयले गर्नु ।
–समानुपातिकको सूची बन्द भएपछि गगनले देउवामाथि सर्जिकल स्ट्राइक गर्नु । बन्दसूची अघि नै गगनले विशेष महाधिवेशन गरेका भए उनीसँग समानुपातिकमा पनि आफू अनुकुलको टिम बनाउने टाइम रहन्थ्यो, देउवा पक्षले यात उनको नेतृत्व स्वीकार गथ्र्यो या अर्को पार्टी खोल्ने टाइम पाउथ्यो।
–प्रत्यक्षतर्फको मनोनयन शुरु हुने टाइम हुनै लाग्दा गगनलाई रुख चिन्हको हकदार करार गरिनु । देउवा पक्षलाई पार्टी खोल्ने त के च्याँक्कसम्म गर्ने टाइम नमिल्नु । एमाले र कांग्रेसबीच चुनावी सहकार्य गरि सबैलाई चक्मा दिने सुरमा रहेका ओली–देउवा हेरेको हेर्यै । न गगनले उभार ल्याउन सक्ने नत देउवाले ओलीसँग सहकार्य गर्न पाउने, कस्तो टाइमिङ !
–जुन पक्षको साइबर बुलिङका कारण रबि जन्मदिनकै टाइममा कारागार फिर्ता हुन बाध्य भएका थिए, काराकार मुक्त भएलगत्तै एकाएक उही पक्षलाई प्रधानमन्त्रीका रुपमा अघि सारी रवि चुनावमा जान सहमत हुनु ।
–प्रधानमन्त्री सुशीला कार्कीले टाइम टाइममा युवालाई देश हस्तान्तरण गरि बिदा लिनेछु भन्नु । यो राजनीतिकरुपमा बुष्ट हो भनि बुझ्नुपर्छ । कानूनकी महारथि भैइसकेकी कार्कीलाई ४० बर्ष मुनिको प्रधानमन्त्रीको दाबेदार को छ भन्ने हेक्का छँदैछ । चुनावी सरकारको प्रमुख भएर निर्वाचित सरकारलाई देशको जिम्मेवारी दिएर जानेछु भनि जिम्मेवाररुपमा प्रस्तुत हुनुको साटो एउटै अठोट दोहोराइरहनु– युवालाई जिम्मा दिनेछु । निज युवाले चुनाव जित्छन् नै भन्ने के छ ? जितिहालेपनि प्रधानमन्त्री हुने ग्यारेण्टी के छ ?
–बीबीसीको डकुमेण्ट्री टाइम मिलाएर मौन अवधी शुरु हुनुभन्दा ठीक अघि रिलिज हुनु, टाइम बमका रुपमा । यता चुनाव अघि आइसक्नुपर्ने छानबिन आयोगको प्रतिवेदन नआउने, उता बीबीसीको वृत्तचित्र सनसनीपूर्णरुपमा सार्वजनिक हुने ।
–झण्ट्ट हेर्दा टाइम घर्काएर राखिएको छानबिन आयोगको प्रतिवेदन ‘टाइम’ मिलाएरै सार्वजनिक हुने देखिन्छ । टाइम मिलाइ मिलाइ सब हुँदैछ । टाइम मिलाएर राज्य संयन्त्र पनि चलिदिएको छ ।
