बग्दाद । इराकको नयाँ प्रधानमन्त्रीका लागि प्रमुख उम्मेदवार नुरी अल–मलिकीले अमेरिकी कूटनीतिज्ञ टम बाराकसँग भेट गरेका छन् ।
सिरियाका लागि अमेरिकी विशेष दूत तथा टर्कीएका लागि राजदूत बाराकले हालै इराकका वरिष्ठ अधिकारीसँग भेट्न कैयौँ पटक इराकको भ्रमण गरिसकेका छन् ।
मलिकीको सञ्चार कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीका उम्मेदवारले बैठकमा इराकको सार्वभौमिकता र त्यहाँका जनताको इच्छाको सम्मान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।’
उनले इराकमा ‘लोकतान्त्रिक प्रक्रियालाई समर्थन गर्ने र राजनीतिक स्थिरतालाई सुदृढ पार्ने’ महत्त्वको बारेमा पनि जोड दिए । बाराकले मलिकीलाई के सन्देश दिएका थिए भन्ने स्पष्ट छैन ।
गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकको मामिलामा हस्तक्षेप गर्दै दुई पटकसम्म इरानसँग नजिकको सम्बन्ध रहेका मलिकीलाई इराकको भावी प्रधानमन्त्री नियुक्त गरिएमा अमेरिकाले अब इराकलाई सहयोग नगर्ने चेतावनी दिएका थिए ।
ट्रम्पको चेतावनीले विशेष गरी समन्वय ढाँचाभित्र इराकी नेताहरूलाई घाटामा पुर्यायो । इरानसँग विभिन्न स्तरको सम्बन्ध भएका शिया समूहहरूको सत्तारूढ गठबन्धनले मलिकीलाई मनोनित गरेको थियो ।
यसै हप्ताको सुरुमा मलिकीले एएफपीसँग आफूले मनोनयन फिर्ता नलिने बताएका थिए ।
‘मेरो देश, यसको सार्वभौमिकता र यसको इच्छाको सम्मानबाट पछि हट्ने मेरो कुनै मनसाय छैन,’ मलिकीले एएफपीसँग दिएको अन्तर्वार्तामा भनेका थिए ।
