महेन्द्रनगर (धनुषा) । नेपाल रेल्वे कम्पनी लिमिटेडले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनकपुर-जयनगर खण्डमा सञ्चालन हुँदै आएको रेल सेवा तीन दिन पूर्ण रूपमा बन्द रहने जनाएको छ ।
कम्पनीको केन्द्रीय कार्यालय जनकपुरधामद्वारा आज जारी सूचनाअनुसार यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा शान्तिसुरक्षा प्रत्याभूति गराउने उद्देश्यले फागुन १९ गते मङ्गलबारदेखि फागुन २१ गते बिहीबारसम्म (तीन दिन) भङ्गाहा-जनकपुर-जयनगर खण्डमा सञ्चालित रेल सेवा बन्द रहने जनाइएको हो ।
उक्त अवधिमा यात्रुलाई पर्न जाने असुविधाप्रति कम्पनीले क्षमायाचना गर्दै सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरेको छ । साथै फागुन २२ गते शुक्रबारदेखि साविक बमोजिम नियमित रेल सेवा सञ्चालनमा आउने सूचनामा उल्लेख गरिएको छ । रेल सेवा बन्द रहने अवधिमा यात्रुलाई वैकल्पिक यातायातको व्यवस्था गर्न कम्पनीले अनुरोध गरेको छ ।
