जेनेभा । सुडानको युद्धमा नागरिकहरूको हत्याको घटना अघिल्लो वर्षको तुलनामा २०२५ मा दोब्बरभन्दा बढीले बढेको संयुक्त राष्ट्र सङ्घका मानव अधिकार प्रमुखले बताएका छन्।
अप्रिल २०२३ देखि, सुडान सेना र द्रुत समर्थन बल (आरएसएफ) बीचको द्वन्द्वमा फसेको छ, जसले दसौं हजारको ज्यान लिएको छ, १ करोड १० लाख मानिस विस्थापित भएको छ र विश्वको सबैभन्दा खराब मानवीय संकट निम्त्याएको छ।
’यो युद्ध कुरूप छ । यो रक्तपातपूर्ण छ र यो मूर्खतापूर्ण छ,“ भोल्कर टर्कले संयुक्त राष्ट्र मानवअधिकार परिषदमा भने । उनले दुवै युद्धरत पक्षलाई अहिलेसम्म कुनै पनि प्रकारको मानवीय युद्धविरामलाई अस्वीकार गरेको भन्दै दोषारोपण गरे ।
उनले विदेशी प्रायोजकहरूले आर्थिक सहयोग गरेको पनि आरोप लगाए र भने, “यो युद्ध ‘उच्च–प्रविधि’ युक्त द्वन्द्व हो । “सन् २०२५ मा मेरो कार्यालयको कागजातले अघिल्लो वर्षको तुलनामा नागरिकहरूको हत्यामा साढे दुई गुणा बढी वृद्धि भएको औंल्याउँछ। हजारौं अझै हराइरहेका छन् वा पहिचान हुन सकेका छैनन्,” टर्कले भने ।
उनले यौन हिंसा, मृत्युदण्ड र स्वेच्छाचारी हिरासतसहित गरिएको ‘जघन्य र निर्दयी’ क्रूरताको निन्दा गरे । टर्कले अप्रिलमा जामजाम शिविरमा आक्रमणको क्रममा आरएसएफले गरेको ‘नरसंहार’ र अक्टोबरमा एल–फासरमा भएको ‘नरसंहार’ प्रति चासो व्यक्त गर्दै यस्ता घटना पुनः दोहोरिन नदिन आवश्यक थप पहलबारे जोड दिए । एल–फासर पश्चिमी डार्फरमा सेनाको अन्तिम पकड हो ।
“उक्त क्षेत्रमा बलात्कार, सामूहिक बलात्कार, यौन यातना र दासत्व सहित यौन हिंसा पनि बढेको छ,” टर्कले भने । सन् २०२५ मा ५०० भन्दा बढी पीडितहरूको दस्तावेजीकरण गरिएको छ।
“सुडानी महिला र केटीहरूको शरीरलाई समुदायलाई आतङ्कित पार्न हतियारको रूपमा प्रयोग गरिएको छ। यी अपराधहरू दोहोरिन सक्ने चिन्ता जारी छ,” उनले भने । एल–फासरको पतनपछि लडाइँ छिमेकी कोर्डोफानसम्म पुगेको छ, जहाँ एकै दिनको ड्रोन आक्रमणले दर्जनौँको ज्यान लिएको थियो ।
