पाँचवर्ष यसरी दौडनेछ गगनको गाडी

नेपालगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्ष सुशासनको वर्ष हुने बताएका छन् । नेपालगञ्जको चुनावी सभालाई बिहीबार सम्बोधन गर्दै सभापति थापाले पाँच वर्षमा गाडी गतिमा दौडिने र बिना दुर्घटना राजमार्गमा गाडी बेतोडले दौडने बताएका हुन् ।

उनले त्यो उत्साह र ऊर्जा बोकेर पाँच वर्ष यो देश बनाउने संकल्पका साथ कांग्रेस उभिएको बताउँदै यो पाँच वर्ष सुशासनको पाँच वर्ष हुने बताएका हुन् ।
सम्बोधनका क्रममा सभापति थापाले सबै पक्षलाई साथसाथै लिएर कांग्रेसले सरकारको राजमार्गमा दुर्घटना नहुने गारी बेतोडले दौडाउने बताए ।

उनले भने, ‘यो पाँचवर्ष सुशील कोइरालाले बनाउनु भएको संविधान भनेको बाटो हो । राजमार्ग हो । त्यो राजमार्गमा गएको सात वर्षको क्षति पूर्ति गर्ने गरिकन गाडी हामी बेजोडले दौडाउँछौँ । बेजोडले । कहीँ नरोकिकन ।’

उनले उक्त गाडीमा कोही पनि नछुट्ने दाबी गरे । सभापति थापाले भने, ‘सबैलाई लिएर त्यो गाडीमा । कसैलाई नछोडिकन । सबै जातजाति, भाषा, समुदाय सबैलाई गाडीमा राखेर युवा बुढा सबैलाई राखेर गाडी बेजोडले दौडाउँछौँ ।’

उनले गाडी दौडाएरमात्र नहुने उक्त गाडी दुर्घटनामा पनि पर्न नहुने बताए । उनले भने, ‘गाडी दौडाएरमात्र हुँदैन । एउटा कुराको ग्यारेन्टी चाहिन्छ । कांग्रेसको एउटा ग्यारेन्टी गाडी दौडिन्छ । गतिमा दौडिन्छ । अर्को ग्यारेन्टी गाडी एक्सिडेन्ट (दुर्घटना) मा पर्दैन । त्यो महत्वपूर्ण कुरा हो । सबैभन्दा महत्वपूर्ण कुरा त्यो हो ।’

उनले गाडी चलाउँदा चटकेको जस्तो व्यवहार गर्ने हो भने गाडी दुर्घटनामा पर्ने भन्दै सरकारलाई गाडीसँग तुलना गरेका हुन् । रास्वपाका शीर्ष नेताहरूको चटकतर्फ संकेत गर्दै उनले भने, ‘यहाँ चटक गरेको जस्तो आएर मैले गाडी दौडाएँ भने गाडी उड्छ पनि । म सिटमा बसेँ भने गाडी आफैँ उड्छ । म सिटमा बसेँ भने गाडी आफैँ पौडिन्छ भनेर सुन्न रमाइलो हुन्छ । ताली पनि बज्छ । तर गाडी राजमार्गमै दौडाउने हो ।’

सरकारको गाडी चलाउँदा सुझबुझ पनि चाहिने स्मरण गराउँदै सभापति थापाले भने, ‘गतिले दौडाउने हो । तर दौडाउँदै गर्दाखेरि जोखिम पनि लिनुपर्छ । स्पिड पनि चाहिन्छ । अर्कोतिरबाट आएको गाडीलाई नठोक्किओस् भन्नको लागि सुझबुझ पनि चाहिन्छ । कहाँनेर थोरै गति कम गर्ने, कहाँनेर गति बढाउने भन्ने कुराको अनुभव पनि चाहिन्छ । उत्साह पनि चाहिन्छ । ऊर्जा पनि चाहिन्छ ।’

सभापति थापाले उक्त ऊर्जा कांग्रेससँग भएको स्पष्ट पारे । उनले भने, ‘त्यो उत्साह र ऊर्जा बोकेर पाँच वर्ष यो देश बनाउने संकल्पका साथ नेपाली कांग्रेस उभिएको छ । यो पाँच वर्ष सुशासनको पाँच वर्ष हुनेछ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *