निर्वाचनमा कुनै दलसँग समीकरण हुँदैनः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि राजीतिक दलसँग समीकरण नहुने स्पष्ट पारेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले नेकपा आफ्नो चुनावी एजेण्डसहित एक सातापछि हुने निर्वाचनमा सहभागी हुने बताएका हुन् ।

‘यो निर्वाचनमा नेकपाले कुनै पनि राजनीतिक दलसँग समीकरण गर्दैन, आफ्नै ‘एजेण्डा’, पार्टी सङ्गठन र जनताको साथ र सहयोगमा निर्वाचनमा जाँदैछौँ’, संयोजक दाहालले भने । एक सय ६५ निर्वाचन क्षेत्रमध्ये बागलुङको क्षेत्र नं १ मा बाहेक अन्यत्र तालमेल नभएको जानकारी दिँदै उनले अयन्त्र चुनावी तालमेल गर्ने पार्टीको नीति नरहेको स्पष्ट पारे ।

नेकपाले विगतको कमीकमजोरी सच्याएर जनताको चाहना र भावनाअनुसार सुशासन र समृद्धिको मार्गमा अघि बढ्ने उल्लेख गर्दै संयोजक दाहालले राष्ट्रिय स्वाधिनता र सामाजिक न्यायको पक्षमा तथा भ्रष्टाचारको विरुद्धमा नेकपा लाग्ने भएकाले जनताले मत दिने विश्वास व्यक्त गरे ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन राजनीतिक दल, सुरक्षा निकाय, कर्मचारी संयन्त्र र आमजनताको भूमिका महत्वपूर्ण हुने बताउँदै उनले आसन्न निर्वाचनले मुलुकलाई निकास दिने विश्वास व्यक्त गरे ।

संयोजक दाहालले जेनजी युवाको भावनाअनुसार संविधान संशोधन गर्दै मुलुकलाई राजनीतिक स्थिरता दिन सबै राजनीतिक दल, युवापुस्तालगायत सरोकार भएका निकायबीच सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिए ।

उनले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै भदौ २३ गतेको घटनाको नैतिक जिम्मेवारी लिन समेत तयार नभएको भन्दै आपत्ति जनाए ।

उनले भने,‘भदौ २३ गते युवाहरूमाथि निर्ममतापूर्वक हत्या गर्ने अतिवादी प्रवृत्ति, दुई तिहाइको दम्भले भ्रष्टाचारलाई पनि संरक्षण गर्ने र युवाहरूको आवाजलाई बलपूर्वक दमन गर्ने प्रवृत्ति नेपालको राजनीति र निर्वाचनमा अहिलेसम्म पनि आत्मसमीक्षा गर्न तयार भएको छैन।’

फरक प्रसंगमा प्रचण्डले जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको उच्चस्तरीय छानबिन आयोगको समय थप हुनु गलत भएको बताए । उनले भने, ‘आयोगको प्रतिवेदन समयमा नै आउनुपथ्र्यो । एकपटक सार्यो त्यो मान्न सकिने कुरा हो । गर्दागर्दै भ्याइएन होला । दुईपटक पनि मोटामोटी त्यस्तै पर्यो कि भन्न सकिने कुरा हो । तर यहाँ त तेस्रो पटक पनि थपियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *