काठमाडौँ । जनमत पार्टीका अध्यक्ष तथा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. सीके राउतले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । बिहीबार राउतले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।
प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उनले सप्तरीमा विगतका दशकदेखि डर, त्रास, असुली र ’जंगलराज’ रहेको दाबी गर्दै त्यसलाई अन्त्य गरी पूर्ण शान्ति र सुव्यवस्था कायम गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।
उनले निर्दोष जनतालाई झुठा मुद्दामा फसाउने प्रवृत्तिको अन्त्य गर्ने दृढता व्यक्त गरेका छन् । उनले राजविराज नगरपालिकामा रहेको बिटोरी जग्गासम्बन्धी समस्याको समाधान गर्ने, यस क्षेत्रका विभिन्न टोलका जनताले नागरिकता नपाइरहेको, वृद्ध भत्ता तथा अपाङ्ग कार्ड नपाइरहेको सम्बन्धमा पनि ठोस पहल गरी समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै, विगतका अधूरा योजनाहरू पूरा गर्ने/योजना कार्यान्वयन गर्ने तथा राजविराज नगरपालिकामा रहेको हटियाको भवन÷गिलेशनमा रहेको डिजाइन सम्बन्धित पक्षको सल्लाहमा त्रुटि सच्चाउँदै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन् । उनले राजविराज बसपार्क निर्माण भइसकेर हस्तान्तरण भए तापनि सञ्चालन हुन नसकेकोले सो सञ्चालन गराउने उल्लेख गरेका छन् ।


