वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसम्बन्धी अनुसन्धानमा संलग्न कम्तीमा १० जना एफबीआई कर्मचारीलाई बर्खास्त गरिएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
बाइडेन प्रशासनको समयमा एफबीआईले हालका एफबीआई निर्देशक काश पटेल र ह्वाइट हाउस प्रमुख स्टाफ सुसी वाइल्सका व्यक्तिगत फोन रेकर्डमार्फत प्राप्त गरेको खुलासा भएपछि उक्त कारबाही गरिएको हो ।
सीबीएस न्युज र सीएनएनका अनुसार, ती बर्खास्तीहरू ट्रम्पमाथि लगाइएको गोप्य कागजात दुरुपयोगसम्बन्धी संघीय अनुसन्धानसँग जोडिएका छन्।
उक्त अनुसन्धान न्याय विभागका पूर्व विशेष वकिल ज्याक स्मिथको नेतृत्वमा सञ्चालन भएको थियो। ट्रम्पको पहिलो कार्यकालपछि फ्लोरिडास्थित उनको मार–ए–लागो रिसोर्टमा फेला परेका गोप्य कागजातहरूको विषयमा अनुसन्धान गरिएको थियो ।
रोयटर्सले बुधबार सार्वजनिक गरेको विवरणअनुसार, सो अनुसन्धानका क्रममा एफबीआईले त्यसबेला निजी नागरिक रहेका तर ट्रम्पका निकट सहयोगी काश पटेल र सुसी वाइल्सका फोन कल रेकर्डहरू समन्समार्फत झिकाएको थियो । एफबीआईले यसबारे द गार्डियनको टिप्पणी अनुरोधमा प्रतिक्रिया जनाएको छैन।
तर रोयटर्ससँगको वक्तव्यमा पटेलले उक्त कदमप्रति आपत्ति जनाउँदै यसलाई बाइडेन प्रशासनद्वारा गरिएको सरकारी अतिक्रमणको प्रमाण भएको बताएका छन् । ‘अघिल्लो एफबीआई नेतृत्वले कमजोर आधारमा, निगरानीबाट जोगिन निषेधित फाइलमा प्रक्रिया लुकाएर, मेरो तथा अहिलेकी ह्वाइट हाउस प्रमुख स्टाफ सुसी वाइल्सको फोन रेकर्ड गोप्य रूपमा समन्स गर्नु अत्यन्त आपत्तिजनक र गम्भीर विषय हो,’ पटेलको भनाइ उदृत गर्दै रोयटर्सले जनाएको छ।
ट्रम्पमाथि राष्ट्रपति पद छाडेपछि अत्यन्त गोप्य कागजात राखेको आरोपसँगै सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गरेको आरोपमा पनि संघीय अनुसन्धान भएको थियो। स्मिथले आफ्ना अनुसन्धान निष्कर्षका आधारमा ट्रम्पविरुद्ध आपराधिक अभियोग दर्ता हुन सक्ने बताएका थिए। तर ट्रम्पले पुनः चुनाव जितेर ह्वाइट हाउस फर्किएपछि ती मुद्दाहरू खारेज गरिएका थिए।
सन् २०२३ मा स्मिथको टोलीले ट्रम्पविरुद्ध अभियोगपत्र दायर गर्दै पहिलो कार्यकालपछि गैरकानुनी रूपमा गोप्य कागजात राखेको तथा २०२० को चुनावी हार उल्ट्याउने प्रयास गरेको आरोप लगाएको थियो। तर सन् २०२४ को चुनाव जितेपछि न्याय विभागको वर्तमान राष्ट्रपतिलाई अभियोजन नगर्ने नीतिको हवाला दिँदै दुवै मुद्दा फिर्ता लिइएको थियो।
कागजातसम्बन्धी अनुसन्धानमा पटेललाई महत्वपूर्ण व्यक्तिका रूपमा हेरिएको थियो। उनलाई सन् २०२२ मा वासिङ्टनस्थित संघीय ग्रान्ड ज्यूरीसमक्ष सरकारी कागजात अनधिकृत रूपमा राखिएको विषयमा बयान दिन बोलाइएको थियो र उनको बयानका लागि सीमित प्रतिरक्षा सुविधा दिइएको थियो ।
पटेलको कार्यकालमा एफबीआईभित्र सार्वजनिक रूपमा बर्खास्ती भएको यो पहिलो घटना भने होइन । गत सेप्टेम्बरमा तीन जना पूर्व वरिष्ठ अधिकारीहरूले आफूहरूलाई ट्रम्पको अनुसन्धान गरेकै कारण गलत रूपमा हटाइएको भन्दै पटेल र संघीय सरकारविरुद्ध मुद्दा दायर गरेका थिए।
