युद्धको चार वर्षपछि पनि युक्रेन अविच्छिन्न भएको जेलेन्स्कीको भनाई

किएभ । युक्रेनलाई टुक्राउने रूसी नेता भ्लादिमिर पुटिनको लालसा युद्धको चार वर्षसम्म विफल पार्न पश्चिमा गठबन्धनका कारण युक्रेनले सफल भएको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

क्रेमलिनले दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा रक्तपातपूर्ण द्वन्द्वलाई आफ्नो लक्ष्यहरू प्राप्त नगरेसम्म जारी राख्ने वाचा गरेको छ । मस्कोले सन् २०२२ फेब्रुअरी २४ (आजकै दिन) मा आफ्नो आक्रमण सुरु गर्दा केही दिनहरूमा किएभ कब्जा गर्ने आशा गरेको थियो ।

हजारौँको मृत्यु भएको र लाखौँलाई विस्थापित बनाएको चार वर्षको युद्धले पूर्वी युक्रेनको धेरै भाग ध्वस्त बनाएको छ । अमेरिकी नेतृत्वको शान्ति वार्ता अझै पनि कब्जा गरिएको भूमिबारे दुबै मुलुकको अडानका कारण निष्कर्षमा पुग्न सकेको छैन ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूसँगको संवादमा एएफपीको एक प्रश्नको जवाफमा भने, “लक्ष्य अहिलेसम्म पूर्ण रूपमा प्राप्त भएको छैन, त्यसैले सैन्य अपरेशन जारी छ ।”

त्यस्तै, युक्रेनी भूमि रूसलाई दिनु रूसलाई आमगामी दिनमा थप आक्रमण गर्नका लागि हौसला दिनु बराबर भएको भन्दै राष्ट्रपति जेलेन्स्कीले युक्रेनीहरूले द्वन्द्वको सुरुवाती दिनहरूमा रूसी सैनिकहरू विरुद्ध प्रतिरोध कार्य गरेको देखाइएको भिडियोसहित सार्वजनिक एक सम्बोधनमा भने, “कुनै पनि सम्झौताले युद्धको क्रममा युक्रेनीहरूले तिरेको मूल्यलाई ‘विश्वासघात’ गर्नु हुँदैन।”

राष्ट्रपति जेलेन्स्कीले भने, “रूसले आफ्नो लक्ष्य हासिल गरेको छैन । उसलेले युक्रेनीहरूको एकतालाई फुटाउन सकेन । शत्रुले यो युद्ध जित्न सकेको छैन । हामीले युक्रेनलाई संरक्षण गरेका छौँ र हामी शान्ति प्राप्त गर्न र न्याय सुनिश्चित गर्न सबै कुरा गर्नेछौँ।”

“हामी बलियो, सम्मानजनक र दिगो शान्ति चाहन्छौँ”, उनले भने, “हामीले कुनै पनि सम्झौतामा हस्ताक्षर मात्र गर्नु हुँदैन, यसलाई युक्रेनीहरूले स्वीकार गर्नुपर्छ।”

“युक्रेनले सबै कुरा भोगेको छ। यसलाई आत्मसमर्पण गरिनु हुँदैन, बिर्सनु हुँदैन वा धोका दिनु हुँदैन,” उनले थपे । युरोपेली संसदलाई सम्बोधन गर्दै जेलेन्स्कीले ब्रसेल्सलाई आफ्नो देशको इयूमा प्रवेशको लागि स्पष्ट समयरेखा तय गर्न आग्रह गरे ।

फिनल्याण्डका राष्ट्रपति अलेक्जेन्डर स्टब र स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसनसहित धेरै युरोपेली नेताहरूले वार्षिकोत्सवको अवसरमा मङ्गलबार किएभको भ्रमण गरेका थिए।

युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेन पनि किएभमा पुगेकी छन् । उनले भनिन्,“म चाहन्छु, युरोप ‘आर्थिक, सैन्य र यो कठोर जाडोमा युक्रेनको साथ अविचलित रूपमा उभिएको छ ।”

जेलेन्स्कीले रुसी आक्रमणलाई रोक्न थप सहयोगको लागि दबाब दिन बेलायत, फ्रान्स र जर्मनीसहित किएभका शीर्ष सहयोगीहरूसँग भिडियो सम्मेलनको पनि आयोजना गरेका छन् ।

यस वर्ष जेनेभा र अबु धाबीमा दुई पक्षबीच वार्ताको मध्यस्थता गरिरहेको संयुक्त राज्य अमेरिकाले द्वन्द्व अन्त्य गर्न दबाब दिइरहेको छ तर उनीहरूको भूभागको मुद्दामा मतभेद छ।

युक्रेनको करिब २० प्रतिशत भूभाग ओगटेको रुसले युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रमा पूर्ण नियन्त्रण हासिल गर्न संघर्ष गरिरहेको छ ।

रूसले अझैपनि किएभ वार्ताको टेबलमा यसलाई सम्झौता गर्न तयार नभएमा बलपूर्वक कब्जा गर्ने चेतावनी दिएको छ। युक्रेनले रुसलाई फेरि आक्रमण गर्नबाट रोक्नका लागि अमेरिका लगायत सहयोगीहरूको सुरक्षा ग्यारेन्टी बिना सम्झौतामा हस्ताक्षर नगर्ने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *