काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा देशका विभिन्न भागमा जारी निषेधाज्ञा र कफ्र्युप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
एमालेका तर्फबाट पार्टीका प्रेस संयोजक मीनबहादुर शाहीले मंगलबार पत्रकार सम्मेलन गरी शान्ति–सुरक्षाको नाममा जारी यस्ता कदमले मतदातामा डर, त्रास र भय सृजना गरी स्वतन्त्र रूपमा मतदान गर्ने अधिकार प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरेका हुन् ।
उनले मधेस–तराईका विभिन्न जिल्लामा निषेधाज्ञा तथा कफ्र्यु लागू गरिनुले निर्वाचनको भयरहित वातावरणमा असर पर्न सक्ने उल्लेख गरे । एमालेले पार्टीले सुरक्षा व्यवस्थापनको कमजोरीका कारण यस्तो अवस्था आएको आरोप लगाउँदै सरकारलाई शान्ति–सुरक्षाको प्रत्याभूति गराउन पुनः आग्रह गरेको छ।
एमालेले फागुन २१ गते घोषित मितिमै निर्वाचन सम्पन्न हुनुपर्ने आफ्नो अडान दोहोर्याउँदै कुनै बहानामा चुनाव सार्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारेको छ।
विज्ञप्तिमा एमालेले आफूलाई स्थायित्व, समृद्धि र सुशासनको विश्वसनीय शक्ति भएको दाबी गरेको छ। ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकांक्षालाई व्यवहारमा उतार्ने स्पष्ट दृष्टि र कार्ययोजनासहित अघि बढिरहेको उल्लेख गर्दै पार्टीले बढ्दो जनसमर्थनलाई राष्ट्रिय नेतृत्वप्रतिको विश्वासको अभिव्यक्ति भनेको छ।
एमालेले प्रतिनिधिसभा विघटनसम्बन्धी विषय संवैधानिक परीक्षणमा जानुपर्ने आफ्नो अडान दोहोर्याउँदै सम्मानित सर्वोच्च अदालतले सो विषयमा ढिलाइ गरेकोप्रति असन्तुष्टि जनाएको छ।
त्यसै गरी महान्यायाधिवक्ताको कार्यालयले केही आपराधिक घटनामा संलग्न व्यक्तिलाई आममाफी दिने निर्णय गरेकोप्रति आपत्ति जनाउँदै यसले दण्डहीनता बढाउने खतरा रहेको उल्लेख गरेको छ। जेनजी प्रदर्शनसँग सम्बन्धित घटनाको छानबिन प्रतिवेदन सार्वजनिक नगरी निर्णय गरिएको भन्दै उक्त कदमलाई ‘न्याय मर्नु सरह’ भएको टिप्पणी गरेको छ।



