भैरहवा (रूपन्देही) । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।
रूपन्देहीको भैरहवामा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले वर्तमान संविधानले मधेशी, जनजाति, दलित तथा उत्पीडित समुदायका मुद्दालाई पूर्ण रूपमा सम्बोधन गर्न नसकेको धारणा राखे । उनले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि पहिचानका आधारमा प्रदेशको सीमांकन गरिनु पर्ने बताए ।
उनले मधेशको मुद्दामा रास्वपा वरिष्ठ नेता बालेन साहको कुनै धारणा नरहेको बताए । उने भने, ‘राष्ट्रिय राजनीतिमा पनि बालेनको कुनै धारणा सुनिदैन । वैचारिक स्पष्टता छैन, दर्शन के हो थाहा छैन, मुद्दा के हो थाहा छैन ।’
अध्यक्ष यादवले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको बताए । वर्तमान प्रणालीले राजनीतिक अस्थिरता निम्त्याएको उनको आरोप थियो ।
सो अवसरमा अध्यक्ष यादवले गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउँदै कूटनीतिक तथा प्राविधिक पहल तीव्र बनाउन आग्रह गरे । उनले जनता समाजवादी पार्टीले सुरुदेखि नै मधेशको समस्याका बारेमा आवाज उठाउँदै आएको र सबै समस्या बुझेको पार्टी भएको बताए ।
