विश्वप्रकाशको प्रश्नः अब पनि निर्वाचनको दुविधामा पर्ने हो ?

झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचनको वातावरण बन्दै गएकाले दुविधामा नपर्न आग्रह गरेका छन् । नेपाल प्रेस युनियन झापाले सोमबार मेचीनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचन सफल बनाउन निर्वाचन आयोग, सरकार, राजनीतिक दल र मिडियाको महत्त्वपूर्ण भूमिका रहनेमा जोड दिए ।

उनले भने, ‘निर्वाचन हुनका लागि वातावरण चाहिन्छ । अहिले वातावरण बनेको छ । निर्वाचनको विपक्षमा कोही दल थिए भने पनि अहिले उहाँहरू निर्वाचनमा सहभागी हुनुहुन्छ ।’

निर्वाचन हुनका लागि अहिले बनेको अनुकूल वातावरणलाई थप अनुकूलतातर्फ लैजाने कर्तव्य राज्यको भएको उल्लेख गर्दै उनले निर्वाचनको वातावरणमा असर पुर्याउने आचारसंहिता विपरीतका कुनै गतिविधि नगर्न राजनीतिक दललाई आग्रह गरे ।

उपसभापति शर्माले भने, ‘विचार र व्यक्तित्वको प्रतिस्पर्धाको महायज्ञ हो । तसर्थ फागुन २१ कै मितिमा निर्वाचन सम्पन्न गराउन जरुरी छ ।’ पत्रकारले राखेका विभिन्न जिज्ञासाको उत्तर दिने क्रममा उनले अहिलेको चुनावमा कुन दलले जित्ने र कुनले हार्ने भन्ने भन्दा जेनजी पुस्ताको विद्रोहपछिको विषम परिस्थितिलाई कसले देशलाई सम्हाल्ने भन्ने सवाल महत्त्वपूर्ण भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *