किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसकेको आरोप लगाउँदै उनलाई रोक्न कडा सैन्य र आर्थिक दबाब आवश्यक रहेको बताएका छन् ।
बीबीसीसँगको अन्तर्वार्तामा उनले युक्रेनले युद्ध नहार्ने र अन्ततः विजयी हुने दाबी गरे। पुटिनले प्रस्ताव गरेको युद्धविरामका सर्तअनुसार रणनीतिक महत्वका भूभागबाट पछि हट्नु अस्वीकार्य हुने उनले स्पष्ट पारे।
उनका अनुसार ती क्षेत्रहरू रूसी सेनाले ठूलो क्षति बेहोरेर पनि पूर्ण रूपमा कब्जा गर्न सकेको छैन । रूसले डोनेट्स्क क्षेत्रको २० प्रतिशत भूभागसहित खेरसोन र जापोरिज्झिया क्षेत्रका थप भूभाग युक्रेनले सुम्पिनुपर्ने माग गर्दै आएको छ।
युक्रेनले ती क्षेत्रलाई ‘किल्ला सहर’का रूपमा वर्णन गर्दै आएको छ । ‘म यसलाई केवल जमिनका रूपमा हेर्दिनँ,’ जेलेन्स्कीले भने, ‘यो हाम्रो अवस्था कमजोर पार्ने र त्यहाँ बस्ने लाखौं नागरिकलाई त्याग्ने कुरा हो। यस्तो निर्णयले हाम्रो समाज विभाजित हुन सक्छ।’
उनले पुटिन अस्थायी रूपमा सन्तुष्ट भए पनि केही वर्षभित्रै पुनः आक्रामक बन्न सक्ने चेतावनी दिए। ‘उहाँलाई विश्राम चाहिएको छ। तर पुनः सशक्त भएपछि युद्ध जारी राख्ने सम्भावना रहन्छ,’ उनले भने।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम वार्ताअघि युक्रेनले छिटो वार्तामा आउनुपर्ने बताएका थिए। केही पश्चिमी विश्लेषकहरूले युद्ध अन्त्यका लागि युक्रेनले भूभागमा सम्झौता गर्नुपर्ने तर्क गर्दै आएका छन्।
