राजविराज । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा सङ्घीय प्रणालीको रक्षा मधेशको बलियो उपस्थिति र खबरदारीमा मात्रै निर्भर रहेको बताएका छन् ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित पथरगाडामा आइतबार चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले सङ्घीयताको जननी नै मधेश प्रदेश भएकाले मधेशको सङ्घर्ष, बलिदान र आन्दोलनकै परिणामस्वरूप देशमा सङ्घीयता स्थापित भएको स्मरण गराए ।
‘सङ्घीयतालाई असफल देखाउने, अधिकार कटौती गर्ने र पुनः केन्द्रीकृत शासनतर्फ फर्काउने प्रयास भइरहेको छ,’ सप्तरीको चुनावी अभियानमा रहेका अध्यक्ष यादवले मतदातालाई सम्बोधन गर्दै भने, ‘तर मधेश जागरुक छ भने त्यस्ता कुनै पनि षड्यन्त्र सफल हुँदैनन् ।’
सप्तरी निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेकाअध्यक्ष यादवले सङ्घीयतामाथि भइरहेको प्रहारप्रति गम्भीर चिन्ता व्यक्त गर्दै केही शक्ति सङ्घीय व्यवस्थालाई कमजोर पार्ने र अन्ततः समाप्त गर्ने षड्यन्त्रमा लागेको आरोप लगाए ।
‘मुलुकमा संङ्घीयता धानिएकै मधेश प्रदेशको दृढ अडानको कारणले हो । मधेशले आवाज उठाएन भने सङ्घीयता केवल कागजमा सीमित हुनेछ । अधिकारको रक्षा गर्न मधेश सधैँ अग्रपङ्क्तिमा उभिएको छ,’ अध्यक्ष यादवले भने ।
मधेशको शक्तिलाई कमजोर बनाउने कुनै पनि प्रयास अन्ततः सङ्घीयता कमजोर पार्ने प्रयास भएको उनले स्पष्ट पार्दै भने, ‘मधेश कमजोर भयो भने सङ्घीयता रहँदैन । त्यसैले मधेशलाई राजनीतिक, आर्थिक र प्रशासनिक रूपमा बलियो बनाउनु आजको आवश्यकता हो ।’
