चितवन । चितवन क्षेत्र नं ३ का नेपाली काँग्रेस र नेकपा (एमाले)का मतदाताले यसपटक आफ्नै चुनाव चिह्नमा मतदान गर्न पाउने भएका छन् ।
निर्वाचनका समयमा अन्य दलसँग तालमेल गर्दा १२ वर्षदेखि आफ्नो चुनाव चिह्नमा मत हाल्न नपाएका उनीहरूले यसपटक आफ्नो उम्मेदवार भएसँगै मतदान गर्ने अवसर पाएका हुन् ।
नेपाली काँग्रेसले वि.सं २०७९ को प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का र २०७४ सालमा राप्रपाका उम्मेदवारलाई सघाएको थियो । माओवादी केन्द्रका डा. भोजराज अधिकारी र राप्रपाका विक्रम पाण्डेलाई सघाएकाले मतपत्रमा रुख चुनाव चिह्न नभएको जिल्ला सभापति राजेश्वर खनालले बताए ।
नेकपा एमालेले वि.सं २०७९ को प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार दिनेश कोइराला र २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सघाएको थियो । जिल्ला इन्चार्ज देवी ज्ञवालीले २०७० सालको संविधानसभा निर्वाचनपछि अहिले आफ्नो चुनाव चिह्नमा मतदान गर्न लागेको बताए । उनले भने, “निकै उत्साहका साथ १२ वर्षपछि हामी सूर्य चिह्नमा मतदान गर्दै छौँ ।”
विसं २०७० मङ्सिर ४ मा सम्पन्न दोस्रो संविधान सभा निर्वाचनमा तत्कालीन नेपाली काँग्रेसका सभापति सुशील कोइराला निर्वाचित भएका थिए। पछि उनी प्रधानमन्त्री समेत बनेका थिए ।
अहिले यो निर्वाचन क्षेत्र नं ३ मा पर्छ । दुई ठाउँमा निर्वाचित भएपछि कोइरालाले चितवन क्षेत्र नं ४ छाडेका थिए । त्यसपछि भएको उपचुनावमा नेपाली काँग्रेसका रामकृष्ण घिमिरे विजयी भएका थिए। उपनिर्वाचनमा एमाले र काँग्रेसले आआफ्नै चुनाव चिह्नमा मतदान गरेका थिए । त्यसपछि भएको संसदीय निर्वाचनमा आफ्नो चुनाव चिह्नमा मतदान गर्न पाएका थिएनन् ।
वि.सं २०५६ मा चितवनमा चार वटा क्षेत्र थिए । विसं २०६४ मा आउँदा पाँच वटा र विसं २०७० मा पनि पाँच वटै कायम भयो । विसं २०७४ मा तीन वटा क्षेत्र भए । तीन वटा क्षेत्र कायम भएपछि एमाले र तत्कालीन नेकपा (माओवादी) बीच एकता भयो र पार्टी नेकपा बन्यो । नेकपाबाट उम्मेदवार भएका पार्टीका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका थिए । ‘प्रचण्ड’ले राप्रपाका विक्रम पाण्डेलाई नौ हजार ३४१ मतान्तरले पराजित गरेका थिए । तत्कालीन समयमा पार्टी एकताका कारण नेकपा एमालेले दाहाललाई मतदान गरेको थियो ।
वि.सं २०७९ को चुनावमा यस क्षेत्रमा राप्रपाका विक्रम पाण्डे विजयी भएका थिए । पाण्डेले आफ्ना निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका भोजराज अधिकारीलाई नौ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए । अधिकारी काँग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार बनेका थिए । पाण्डेले ३५ हजार ५५ मत ल्याउँदा अधिकारीले २५ हजार ८२२ मत ल्याएका थिए ।
यस क्षेत्रमा काँग्रेसबाट बागी उठेका दिनेश कोइरालालाई एमालेले सघाउने निर्णय गरेको थियो । उनको निर्वाचन चिह्न माछा थियो । एमालेले मतदातालाई निर्देशन दिएर माछा चिह्नमा भोट हाल्न लगाएको थियो । कोइरालाको १२ हजार ५७ मत आएको थियो । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले तेस्रो स्थान प्राप्त गरेकी थिइन् । उनले १४ हजार ८४२ मत ल्याइन् ।
आसन्न प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नं. ३ मा काँग्रेस र एमाले दुवै पार्टीका उम्मेदवार रहेका छन् । काँग्रेसबाट टेकप्रसाद गुरुङ र एमालेबाट युवानेता शंकरराज थपलिया उम्मेदवार छन् । काँग्रेस एमालेका दुवैको चुनाव चिह्न यसपटकको निर्वाचनमा रहेका छन् ।
यस्तै नेपाली कम्युनिष्ट पार्टीबाट रेनु दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम उम्मेदवार छन् । राप्रपाबाट दीपक थापामगर उम्मेदवार छन् । यस क्षेत्रमा दल र स्वतन्त्र गरी २३ जना उम्मेदवार रहेका छन् । यस क्षेत्रमा भरतपुर महानगरपालिकाका १९ वटा वडा र माडी नगरपालिका पर्दछ ।
यस क्षेत्रमा एक लाख ५५ हजार ३०९ जना मतदाता रहेका छन् । तीमध्ये ७५ हजार ६९६ जना पुरुष र ७९ हजार ६१२ जना महिला एवं एक जना तेस्रोलिंगी रहेका छन् । उनीहरूले ६३ वटा स्थल र १७४ वटा केन्द्रबाट मतदान गर्नेछन् ।
