घोषणापत्रमा भौतिक विकास र पूर्वाधार

-डा. सूर्यराज आचार्य ।

चुनावको रमझमबीच आएका सबै दलका घोषणापत्र वा प्रतिज्ञापत्र एकसरो पढियो । सबैमा जनउत्तरदायित्वको भावना पाइन्छ। कसरी आम जनताका मनका कुरालाई सम्बोधन गर्ने भन्ने प्रयास देखिन्छ। प्रस्तुति पनि पाठकमैत्री छ। यो सकारात्मक पक्ष हो । विकासशील देशको सामाजिक–आर्थिक रूपान्तरण, विकास तथा समग्र उन्नतिको गति–मति मुलुकको भौतिक विकासको सोच र स्वरूपमा पनि भर पर्छ। कुनै पनि मुलुकको विकासको सम्भावना असीमित हुन्छ, तर त्यस्तो सम्भावनालाई कुन हदसम्म मुखरित गर्ने भन्ने कुरा देश हाँक्ने नेतृत्वको सोच, भिजन र विशेषतः भौतिक विकाससम्बन्धी दीर्घकालीन योजनामा समेत निर्भर गर्दछ। चुनाव ५ वर्षका लागि हुन्छ, तर भौतिक विकासको हकमा सरकारले ५० वर्ष पछिको नेपाललाई ध्यानमा राखेर योजना बनाउन सक्नु पर्दछ। दीर्घकालीन सोच/योजना बिना तत्कालका आवश्यकतामात्र पूरा गर्ने दृष्टिकोण भनेको ठूलो गाग्री होइन, सानो लोटा लिएर कुवामा पानी भर्न जानुजस्तै हो।

भौतिक विकासका मामिलामा दलहरूका एजेन्डाबीच केही घटबढ देखिन्छ नै । तथापि, सबै दलका घोषणापत्रमा समग्र भौतिक विकासको दीर्घकालीन सोच र योजनामा पर्याप्त गृहकार्य र गम्भीरता देखिएको छनक आएन। आर्थिक विकास र उन्नतिको नाममा यति–उति वर्षमा प्रतिव्यक्ति आय यति–उति पुर्याउने, यति–उति रोजगारी सिर्जना गर्ने, मुलुकलाई आधुनिक विकासको बाटोमा हिँडाउनेजस्ता महत्वाकांक्षी एजेन्डा छन्। तर ती लक्ष्य हासिल गर्न आवश्यक वा त्यस्तो प्रगतिसँग मेल खाने भौतिक विकासको स्वरूप कस्तो हुनुपर्छ भन्ने विषयमा स्पष्टताको कमी सबै दलका घोषणापत्रमा खट्किएको छ। दीर्घकालीन सोच र गम्भीर गृहकार्यभन्दा झाराटराइ शैली बढी देखिन्छ। केही सुधारसहित मूलतः हालकै टुक्रे–विकासको शैलीकै निरन्तरता देखिन्छ।

विकासशील र गरिब देशको भौतिक विकास तथा पूर्वाधारको तत्कालको आवश्यकताको सोच बोकेर मध्यआय वा विकसित देशको सपना बाँड्ने पुरानै विकासे शैलीलाई सबै दलले पछ्याएको देखियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *