मस्को । रूसको साइबेरियास्थित बैकाल तालको हिउँमा शुक्रबार पर्यटक बस दुर्घटना हुँदा सात चिनियाँ पर्यटकको मृत्यु भएको छ । रुसको विपद् व्यवस्थापन मन्त्रालयअन्तर्गतको एक क्षेत्रीय शाखाले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै बस तीन मिटर चौडा हिउँको चिरामा खसेर डुबेको जनाएको छ ।
‘उद्धारकर्ताहरूले पानीमुनि क्यामेराको प्रयोग गरेर सातजनाको शवलाई फेला पारेका छन्,’ जारी विज्ञप्तिमा भनिएको छ । पीडितहरूको राष्ट्रियता स्पष्ट रूपमा उल्लेख गरिएको छैन ।
यद्यपि, इर्कुत्स्क क्षेत्रका गभर्नर इगोर कोब्जेभले भने दुर्घटनामा परेका व्यक्तिहरू चिनियाँ नागरिक भएको र यसबारे चिनियाँ महावाणिज्य दूतावासलाई सूचित गरिएको जनाएका छन् । गभर्नर कोब्जेभले एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भने, ‘पर्यटक बस डुब्न थालेपछि एक यात्रु दुर्घटनाबाट उम्कन सफल भएका छन् ।’
उक्त गाडी १८ मिटर तल पानीमा फेला परेको थियो । रसियाको बैकाल ताल साइबेरियाको प्रमुख पर्यटकीय गन्तव्य हो । यो मङ्गोलियाको उत्तरमा छ र चिनियाँ पर्यटकहरूको लोकप्रिय गन्तब्य हो । जाडोमा तालको पानी जम्दा क्रिस्टल जस्तो स्तम्भहरू देखिन्छन् । जुन हेर्न हजारौं पर्यटक पुग्ने गर्छन् ।
