काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेशका संस्थापक सदस्य तथा बारा जिल्लाका सहसचिव एवं संगठन प्रमुख पवन चौधरीले पार्टी छाडेका छन् ।
उनले साधारण सदस्यसमेत नरहने गरी शुक्रबार राजीनामा दिएका हुन् । आसन्न निर्वाचन प्रक्रियासम्बन्धी पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय तथा कार्यशैली स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत रहेको अनुभव भएकाले राजीनामा दिएको उल्लेख गरेका छन् ।
यस्तो छ उनको राजीनामा पत्र
केन्द्रीय कार्यालय
राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौं, नेपाल।
विषयः साधारण सदस्यबाट समेत नरहने गरि राजीनामा सम्बन्धमा।
श्रदेय,
म रास्वपा मधेस प्रदेशको संस्थापक सदस्य तथा वर्तमानमा जिल्ला सह–सचिव तथा संगठन प्रमुख सदस्यको हैसियतले २०७९ श्रावण ७ गतेदेखि आजसम्म आफ्नो योग्यता, क्षमता, दक्षता र समय समर्पित गर्दै पार्टीप्रति निस्वार्थ भावले निरन्तर योगदान पुर्याउँदै आएको छु।
‘राजनीतिमा युवा पुस्ता आउनुपर्छ’ र ‘जान्नेलाई छान्ने’ भन्ने मूल नाराले प्रेरित भई म यस पार्टीमा आवद्ध भएकी थिएँ। तर आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालिन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिक विपरीत भएको अनुभव गरेको छु।
संगठनमा दिनरात खटिएका क्षेमतवान घण्टी मित्रहरूको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत क्रियाकलापहरू भएको , पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको र मुलतः आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मुल्यहरु माथी आँच आउने परिस्थिति बनेको छ, यी सबै क्रियाकलापहरुको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु। त्यसकारण आजकै मितिदेखि लागू हुने गरी म यश पार्टीको साधारण सदस्य समेत नरहने गरी आफ्नो राजीनामा पेश गर्दछु। यस अवधिसम्म पार्टीले दिएको अभिभावकत्व, सहकार्य र अवसरका लागि हार्दिक आभार व्यक्त गर्दछु।
धन्यवाद।
भवदीय,
पवन चौधरी
जिल्ला स–सचिव बारा
संगठन प्रमुख रास्वपा
