‘यहाँ छ रविको सहकारी ठगीको प्रमाण’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा प्रत्यक्ष संलग्न रहेको दाबीसहितका प्रमाणहरू प्रस्तुत गरेका छन् ।

बिहीबार काठमाडौँमा खुला प्रश्नोत्तर कार्यक्रममा सभापति थापाले लामिछानेको संलग्नता पुष्टि गर्ने दाबीसहित विवरण प्रस्तुत गरेका हुन् । उनले सर्वोच्च अदालतको डिभिजन बेन्चको फैसला र विभिन्न जिल्ला अदालतमा पेश भएका तथ्य प्रस्तुत गरेका हुन् ।

उनले भने, ‘साथीहरूले कमेन्टमा प्रमाण खोइ भन्नुहुन्छ, म आज यहाँ प्रमाणसहित उपस्थित भएको छु । यो मैले बनाएको आरोप होइन, नेपालको सम्मानित सर्वोच्च अदालतको डिभिजन बेन्चको फैसला र विभिन्न जिल्ला अदालतमा पेश भएका तथ्यहरू हुन् । चितवनको अदालतको रेकर्ड अनुसार रवि लामिछानेको नाममा ११ करोड ७० लाख रुपैयाँ गोर्खा मिडियामा गएको देखिन्छ र उहाँ आफैँले हस्ताक्षर गरेका ४१४ वटा चेकहरू फेला परेका छन् । यस्तै, बुटवलको सुप्रिम सहकारीबाट पनि बिना धितो २ करोड रुपैयाँ लामिछानेको व्यक्तिगत नाममा ऋण प्रवाह भएको देखिएको छ । उहाँले निःशुल्क सेयर पाएको दाबी गरे पनि उक्त सेयर लगानी गर्न सहकारीकै रकम प्रयोग भएको देखिन्छ । कम्पनीबाट अलग भएको भनिएको मिति पछि पनि सयौँ चेकमा उहाँको हस्ताक्षर निरन्तर रहेको भेटिएको छ । त्यस्तै, बुटवलको सुप्रिम सहकारीबाट पनि बिना धितो २ करोड रुपैयाँ लामिछानेको व्यक्तिगत नाममा ऋण प्रवाह भएको छ । यी सबै तथ्यहरू सार्वजनिक दस्ताबेजका रूपमा उपलब्ध रहेको र जोसुकैले सर्वोच्च अदालतको वेबसाइटमा गएर हेर्न सक्नुहुनेछ ।’

रवि गृहमन्त्री हुँदा पोखराको सूर्यदर्शन, रूपन्देहीको सुप्रिम लगायतका सहकारीको बचत अपचलनमा मुछिएको घटना सार्वजनिक भएपछि गगन थापाले उनीमाथि संसदीय छानविन हुनुपर्ने माग गरेका थिए । त्यतिबेला थापाले रवि र उनी सञ्चालक रहेको गोर्खा मिडियाले सहकारीको ऋण अपचलन गरेको प्रमाणहरू भएकाले छानबिन समिति बनाउनुपर्ने माग गरेका थिए ।

योबीचमा मुद्दा परेर जेल परेर धरौटीमा रिहा भएपछि पनि उनका समर्थकले प्रमाण खै भनेर सोधिरहेका छन् । उम्मेदवारी दर्ता गर्ने दिन वीरगंजमा सानोपाइला सहकारी ठगीमा पर्सा अदालतले रविलाई एक करोड धरौटीमा रिहा गरेको थियो । तर पनि गगनलाई उनका समर्थकले खै प्रमाण भन्न छाडेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *