युरोपमा प्रतिबन्धित सामग्री हेर्न अमेरिकी अनलाइन पोर्टल बनाउने तयारी

वाशिङ्टन । अमेरिकी विदेश मन्त्रालयले युरोप तथा अन्य क्षेत्रमा सरकारद्वारा प्रतिबन्धित सामग्री हेर्न मिल्ने अनलाइन पोर्टल विकास गरिरहेको जनाएको छ । स्रोतका अनुसार ‘फ्रिडम डट जिओभी‘ नामक साइटमार्फत कथित घृणात्मक अभिव्यक्ति र आतङ्कवादी प्रचारसम्बन्धी सामग्रीसमेत पहुँचयोग्य बनाउने योजना छ। वाशिङ्टनले यसलाई सेन्सरशिपको प्रतिकारका रूपमा हेरेको बताइएको छ।

सार्वजनिक कूटनीतिका लागि उप–विदेश सचिव सराह रोजर्सको नेतृत्वमा अघि बढाइएको परियोजना गत साता जर्मनीमा सम्पन्न म्यूनिख सुरक्षा सम्मेलनमा सार्वजनिक गर्ने तयारी थियो । तर घोषणा स्थगित भएको स्रोतहरूले बताएका छन् । किन सार्वजनिक भएन भन्ने स्पष्ट नभए पनि केही अधिकारी र कानुनी सल्लाहकारहरूले चिन्ता व्यक्त गरेको जनाइएको छ ।

स्रोतका अनुसार साइटमा भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) सुविधा समावेश गर्नेबारे छलफल भएको छ, जसले प्रयोगकर्ताको इन्टरनेट ट्राफिक अमेरिकाबाट आएको जस्तो देखाउन सक्छ ।

विदेश मन्त्रालयका प्रवक्ताले युरोप लक्षित विशेष सेन्सरशिप–परिहार कार्यक्रम नभएको बताए पनि ‘डिजिटल स्वतन्त्रता मन्त्रालयको प्राथमिकता’ भएको उल्लेख गरेका छन्। उनले घोषणा ढिलाइ भएको र मन्त्रालयका वकिलहरूले आपत्ति जनाएको दाबी अस्वीकार गरेका छन् ।

यो कदमले व्यापार, युक्रेनमा रुसको युद्ध तथा ग्रिनल्याण्डबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिका कारण पहिल्यै तनावग्रस्त युरोपसँगको सम्बन्धमा थप दबाब सिर्जना गर्न सक्ने विश्लेषण गरिएको छ।

संघीय दर्ता प्रणालीअनुसार ‘फ्रिडम डट जिओभी’ डोमेन जनवरी १२ मा दर्ता गरिएको थियो। हालसम्म साइटमा कुनै सामग्री सार्वजनिक गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *