नाइजेरियामा ग्यास खानीमा विस्फोट हुँदा ३८ मजदुरको मृत्यु

नाइजेरिया । मध्य नाइजेरियाको पठार राज्यमा बुधबार भएको ग्यास विस्फोटमा परी कम्तीमा ३८ जना खानी मजदुरको मृत्यु भएको स्थानीय स्रोतले एएफपीलाई जानकारी दिएको छ । पठार राज्यको बसार जिल्लास्थित कम्पानिन जुराक खानी क्षेत्रमा भएको विस्फोटमा अन्य २७ जना घाइते भएका छन् ।

स्थानीय समुदायका एक नेता अल्हाजी अलियु अदामु इद्रिसले भने, ‘खानिमा विस्फोट भएको सत्य हो । विस्फोटमा परी अहिलेसम्म ३८ जनाको मृत्यु भएको पुष्टि भएको छ र अन्य २७ जनालाई अस्पताल लगिएको छ ।’

स्थानीय समयअनुसार बिहान ७ः३० देखि ८ः०० को बीचमा विस्फोट भएको नजिकैको खानी मजदुर इब्राहिम दत्तिजो सानीले एएफपी समाचार समितिलाई बताए।

सानीले टेलिफोनमा एएफपीसँग भने, ‘हामी घटनास्थल नजिकै बस्छौँ । मानिसहरू खानिको खाल्डोमा थिए र अचानक ग्यास विस्फोट भयो।’ पश्चिम अफ्रिकी देशले विगतमा पनि यस्तै घातक खानी दुर्घटना देखेको छ।

गत सेप्टेम्बरमा भारी वर्षाका कारण अवैध खानिमा ढुङ्गा खस्दा कम्तीमा १८ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *