देशलाई दुर्घटनातर्फ लैजाने कि जोगाउने भन्ने फैसला यही चुनावले गर्छ: प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुमपूर्वको सिस्ने गाउँपालिकाका विभिन्न स्थानमा जनतासँगको भेटघाट तथा अन्तरक्रियामा क्रान्तिको आधारभूमिलाई विकासको नमुना जिल्लामा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सिस्ने गाउँपालिकाको खुपिचार, खारा, भीङ, पोखरा, सिस्नेरी र धपेमा बुधबार आयोजित कार्यक्रममा उनले जनयुद्धकालीन स्मृतिहरू सम्झँदै रुकुम–रोल्पा आफ्नो राजनीतिक कर्मथलो रहेको बताए ।

‘रुकुमपूर्व मेरा लागि नयाँ ठाउँ होइन । म ४१ वर्ष पहिले नै यहाँ आएको थिएँ । रुकुम–रोल्पा मेरै नेतृत्वमा भएको जनयुद्धको आधार इलाका हो । यहीँबाट मैले क्रान्तिको नेतृत्व गरेँ’, उनले भने ।

संयोजक दाहालले रुकुमपूर्वलाई आफ्नो अर्को कर्मथलोका रूपमा उल्लेख गर्दै यहाँ आउँदा नयाँ ऊर्जा प्राप्त भएको बताए । जनतासँगको भेटघाटलाई उनले विजय उत्सवसँग तुलना गरे । ‘कतै भव्य जुलुस छ, कतै पञ्चेबाजा बजेका छन् । मत माग्न होइन, विजय उत्सव मनाइरहेको जस्तो लाग्छ’, उनले भने ।

उनले वर्तमान निर्वाचनलाई नियमित प्रक्रिया नभई विशिष्ट समयको राजनीतिक प्रतिस्पर्धा भएको उल्लेख गरे । आफ्नो नेतृत्वको पार्टी सुशासन र भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियानमा अग्रसर रहेको बताउँदै जनताले सकारात्मक शक्तिलाई विजय गराउने विश्वास व्यक्त गरे ।

उनले निर्वाचन निष्पक्ष र धाँधलीरहित हुनुपर्नेमा जोड दिँदै सेना र प्रहरीप्रति भरोसा व्यक्त गरे । ‘यो निर्वाचन राष्ट्रका लागि महत्वपूर्ण छ । देशलाई दुर्घटनातर्फ लैजाने कि जोगाउने भन्ने फैसला यही चुनावले गर्छ’, उनले भने । भौतिक कठिनाइका बाबजुद जनताबीच पुग्दा आफूले नयाँ ऊर्जा प्राप्त गरेको बताउँदै दाहालले रुकुमपूर्वलाई विकासको नमुना जिल्ला बनाउने प्रतिबद्धता गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *