धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरु सिंहदरबार बनाउने मात्रै नभई बदल्न आएको बताएका छन् ।
बुधबार कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफूहरु सिंहदरबार बनाउने मात्र नभई बदल्न आएको बताएका हुन् । उनले फागुन २१ को निर्वाचनले कुशासन, भ्रष्टाचार, बेथितिको सटर बन्द गराइदिनेसमेत बताए ।
उनले भने, ‘सुदूरपश्चिमको अधिकारलाई माग बनाएर अल्झाएर राख्न काम बन्द हुनुपर्छ । सटर त एउटा बन्द हुनुपर्छ । बेथिति बेरोजगारीको सटर बन्द गर्ने हो सबै सटर बन्द गर्ने हो एकैपटक । कि हाम्रो गर्नुस्, कि अरू (पुराना दल)को गर्नुस् । म खुद्रा–खुद्रामा कुरा गर्न होइन, सबै समस्या पूरा गर्न आएको छु ।’
सभापति लामिछानेले अहिले पाँच वर्षको स्थायी सरकार माग गरेर जनतामाझ रास्वपा गएको भन्दै आफ्ना उम्मेदवारलाई भोट दिन पनि आह्वान गरे । उनले जनताको अधिकारलाई माग बनाएर हरेक चुनावमा घोषणा पत्रमा लेख्ने युगलाई अन्त्य गर्ने बताए ।
उनले भने, ‘हामीले यसपटक ५ वर्षको स्थायी सरकार मागेका हौं । अब बाचा गर्ने तर पूरा नगर्ने हो भने सजाय पाउनुपर्छ । अब जनताले सजाय पाउने होइन, त्यसैले हामीले स्थायी सरकार भनेका हौं ।’
