काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी छाडेकी छन् । विज्ञप्ति जारी गर्दै उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी हुन् ।
पार्टीमा इमानदार व्यक्तिहरुको मूल्यांकन नभएको र आर्थिक अनियमितता भएको आरोप लगाउँदै पार्टीमा बस्न नसकेको उनले बताएकी छिन् ।
विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मुल्यहरु माथि आँच आउने परिस्थिति बनेको छ । यी सबै क्रियाकलापहरुको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु । त्यसकारण आजकै मितिदेखि लागू हुने गरी म यस पार्टीको साधारण सदस्य समेत नरहने गरी आफ्नो राजीनामा पेश गर्दछु ।’
उनले २०७९ साल साउन १० गतेदेखि पार्टीमा आफ्नो योग्यता, क्षमता र समय समर्पित गर्दै निरन्तर योगदान पुर्याउँदै आएकी थिइन् ।
