काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायलाई आग्रह गरेको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थाको तयारी तथा निर्वाचनमा मानवअधिकारको संरक्षण सम्बन्धमा चारवटै सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरूसँग छलफल गर्दै आयोगले यस्तो आग्रह गरेको हो ।
आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरूसँग छलफल गरी सुरक्षा व्यवस्था चुस्त बनाउन आग्रह गरिएको बताए । कार्यक्रममा आयोगका सदस्य, सचिव, नेपाली सेनाका रथी, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।
छलफलपछि आयोगले भनेको छ, ‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायलाई आवश्यक सञ्चार, सुरक्षा र यातायातलगायत निर्वाचन सुरक्षासम्बन्धी सामग्रीहरूको यथोचित व्यवस्था मिलाउन सरकारलाई निर्देशन गरिएको छ ।’
आयोगका अध्यक्ष तपबहादुर मगरले मतदाता, उम्मेदवार, पर्यवेक्षक, अनुगमनकर्ता तथा निर्वाचनमा खटिने सम्पूर्ण कर्मचारीको सुरक्षा व्यवस्था र मानवअधिकार संरक्षणका लागि भएका कार्यहरू सम्बन्धमा जानकारी गराउन आग्रह गरे ।
सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरूले सुरक्षा निकायलाई आवश्यक पर्ने सहायता सामग्रीको कमीका बाबजुत निर्वाचन सम्पन्न गराउनका लागि उच्च मनोबलका साथ तयारी भइरहेको बताएका थिए ।
