भारतले पशुपतिनाथदेखि बैद्यनाथधामसम्म ‘हाई–स्पीड एक्सप्रेस-वे’ निर्माण गर्ने

काठमाडौँ । भारतले नेपालको पशुपतिनाथ मन्दिरदेखि बिहार हुँदै झारखण्डको बैद्यनाथधाम मन्दिरसम्म ‘पशुपतिनाथ–बैद्यनाथधाम हाई–स्पीड करिडोर’ नामक ग्रीनफिल्ड एक्सप्रेसवे निर्माण गर्ने भएको छ ।

बिहारका सडक निर्माण मन्त्री डा. दिलीप जायसवालले विधानसभा बैठकमा उक्त जानकारी दिएका हुन् ।
आर्थिक वर्ष २०२६–२७ का लागि सडक निर्माण विभागको ८,२६० करोड रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गर्दै मन्त्री जायसवालले प्रस्तावित २५० किलोमिटर लामो करिडोर काठमाडौंबाट सुरु हुने बताए ।

उनका अनुसार यो मार्ग भीमनगर र वीरपुर हुँदै बिहारको सुपौल जिल्लाबाट भारत प्रवेश गर्नेछ। त्यसपछि मधेपुरा, सहरसा, खगडिया, मुंगेर र बांका जिल्लाबाट गुज्रिँदै झारखण्डको देवघरस्थित बैद्यनाथधामसम्म पुग्नेछ।

मन्त्री जायसवालले परियोजनाको मुख्य उद्देश्य पशुपतिनाथ मन्दिर र बैद्यनाथधाम मन्दिरलाई सिधा सडक सञ्जालमार्फत जोडेर धार्मिक पर्यटन प्रवद्र्धन गर्नु र सांस्कृतिक आदान–प्रदानलाई गति दिनु रहेको बताए। उनका अनुसार करिडोर निर्माणसँगै बिहार र झारखण्डका विभिन्न जिल्लामा आर्थिक गतिविधि बढ्ने तथा क्षेत्रीय सम्पर्क प्रणाली सुदृढ हुने अपेक्षा गरिएको छ।

प्रस्तावित एक्सप्रेसवेलाई रक्सौल–हल्दिया र दरभंगा–अमस जस्ता प्रमुख मार्गसँग पनि जोडिनेछ, जसले पूर्वी भारतमा सशक्त सडक सञ्जाल विकासमा सहयोग पुर्याउने जनाइएको छ।

यसैबीच, भारत–नेपाल सीमा सडक परियोजनाअन्तर्गत बिहारका सात सीमावर्ती जिल्लामा ५५४.०८ किलोमिटर सडक निर्माण भइरहेको मन्त्रीले जानकारी दिए। पश्चिम चम्पारण, पूर्वी चम्पारण, सीतामढी, मधुबनी, सुपौल, अररिया र किशनगंज जिल्लाबाट गुज्रिने उक्त सडक पश्चिम चम्पारणको मदनपुरबाट सुरु भएर किशनगंजको गलगलियामा समाप्त हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *