रुसी ब्ल्याक सी बन्दरगाहमा युक्रेनी ड्रोन आक्रमण

एपीः अमेरिकी मध्यस्थतामा हुने शान्ति वार्ताअघि युक्रेनले रूसको ब्ल्याक सी क्षेत्रमा रहेको तामान बन्दरगाहमा ड्रोन आक्रमण गरेको छ। आक्रमणपछि बन्दरगाह क्षेत्रमा आगलागी भएको र दुई जना घाइते भएका क्षेत्रीय अधिकारीहरूले जनाएका छन्।

क्रास्नोडार क्षेत्रका गभर्नर वेनियामिन कोन्द्रात्येभका अनुसार आक्रमणका कारण तेल भण्डारण ट्याङ्की, गोदाम तथा टर्मिनलमा क्षति पुगेको छ ।
उता, रुसी ड्रोनका भग्नावशेष खस्दा युक्रेनको ओडेसा क्षेत्रमा नागरिक तथा यातायात पूर्वाधारमा क्षति पुगेको स्थानीय प्रशासनले जनाएको छ। विद्युत् र खानेपानी आपूर्तिमा अवरोध आएको बताइएको छ ।

युक्रेनले रूसका ऊर्जा संरचनामाथि लामो दूरीका ड्रोन आक्रमणलाई तीव्र बनाएको छ। कीभका अनुसार यसले रूसको तेल निर्यात आम्दानी घटाएर युद्ध क्षमता कमजोर पार्ने उद्देश्य राखेको छ।

रूसले भने युक्रेनको विद्युत् सञ्जाललाई लक्षित गर्दै आक्रमण बढाइरहेको छ। युक्रेनी अधिकारीहरूले यसलाई नागरिकलाई जाडोमा ताप, प्रकाश र पानीबाट वञ्चित गर्ने रणनीति बताएका छन्।

यी घटनाहरू मंगलबार र बुधबार जेनेभामा हुने रूस–युक्रेन वार्ताअघि भएका हुन्। फेब्रुअरी २४ मा रूसले युक्रेनमाथि पूर्ण आक्रमण थालेको चौथो वर्षगाँठ नजिकिँदै गर्दा वार्ता हुन लागेको हो।

म्युनिख सुरक्षा सम्मेलनमा बोल्दै राष्ट्रपति जेलेन्स्कीले युक्रेनका लागि दीर्घकालीन सुरक्षा प्रत्याभूतिहरू स्पष्ट हुन बाँकी रहेको बताएका छन्। उनले शान्ति सम्झौताअघि सुरक्षा ग्यारेन्टी सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *