गगनले भनेजस्तै अबको विकल्प भनेको जनदबाब, सहकार्य र राष्ट्रिय सहमति नै हो

-नारायण गाउँले ।

राजनीतिमा उत्तेजनाभन्दा सिस्टमको अनुभव र अन्तर्दृष्टि कति महत्त्वपूर्ण हुन्छ भन्ने बुझ्न एउटा उदाहरण हेरौँ । ठूलो विद्रोहपछि बङ्गलादेशमा विद्रोहीहरूको माग र शासकीय सुधारका पक्ष किटान गरेर एउटा चार्टर बनाइयो । संविधानमै लेख्नुपर्ने ती विषय मोहम्मद युनुसको अन्तरिम सरकारले पूरा गर्न सक्दैनथ्यो । संसदमा दुई तिहाई बहुमत चाहिन्थ्यो । कुनै दलको त्यत्रो बहुमत नआउन पनि सक्थ्यो र त्यो आन्दोलन खेर जान सक्थ्यो । त्यसका लागि एउटा उपाय निकालियो, चुनावमात्रै नगर्ने, त्यससँगै सुधारका पक्ष समेटेर जनमत सङ्ग्रह पनि गर्ने । जनमत सङ्ग्रहकै परिणामविरुद्ध जान कुनै पनि दललाई नैतिक सङ्कट हुन्छ र परिवर्तन संस्थागत हुन्छ ।

नेपालमा जेनजी आन्दोलनले उठाएका कतिपय माग संविधान नै संशोधन नगरी नहुने खालका थिए । संवैधानिक सुधारका ती माग पूरा गर्न संसदमा दुई तिहाई बहुमत जुट्नुपर्छ । राष्ट्रियसभामा सबै दलको उपस्थिति छैन । दुई तिहाईको सम्भावना छैन । यस्तोमा नयाँ सरकार बहुमतकै बने पनि एकदुई धरपकड या कर्मकाण्डी गतिविधिबाहेक ठोस परिवर्तन सम्भव हुँदैन । फलतः यो विद्रोह र त्यत्रो क्षति एउटा सरकार परिवर्तनमा मात्रै सीमित हुन्छ ।

गगन थापाले जनवरी १ का दिन एउटा भिडियो जारी गर्दै यही समस्याको समाधान खोज्ने प्रयास गरेका थिए । उनको अनुभव र दृष्टि त्यहाँ पुगेको थियो । त्यो भिडियो खोलेर हेर्नुभयो भने उनले जेनजी प्रतिनिधिदेखि अन्य राजनीतिक दललाई छलफलको खुला आह्वान गर्दै केही संवैधानिक सुधारका मागलाई अहिले नै सुनिश्चित गरेर चुनावमा जान आग्रह गरेका थिए । जेनजी विद्रोहको जगमा विकसित राजनीति र चुनावलाई तिनकै माग र भावना अनुसार उपयोग नगर्ने हो भने धोकामात्रै हुने भन्दै सबैलाई ठोस छलफल र निकासको अनुरोध गरेका थिए । यो वक्तित्वकलाको आह्वान थिएन, चुनाव प्रचार थिएन । गम्भीर भएर एउटा पूर्वसहमति गरौँ र संविधानमा लेख्ने प्रण गरौँ भन्ने सोच थियो । जनमत सङ्ग्रह एउटा विकल्प हुन सक्थ्यो । जसले दुई तिहाई कसैको नआए पनि संविधान संशोधन गर्ने बाटो खोल्ने थियो । देशको पहिलो दलले विद्रोहका माग पूरा गर्न पहल गरौँ भन्नु ठूलो कुरो थियो ।

जेनजी विद्रोहको पक्ष र विपक्षमा त थुप्रै वादविवाद र बहस थियो तर केही जेनुइन मागलाई संस्थागत गर्नेतिर बहस केन्द्रित गरौँ भन्ने उनीमात्रै भए । सबैको ध्यान चुनावतिर थियो । कसैलाई त्यस्तो छलफल गर्ने फुर्सत थिएन । त्यतिन्जेल उनी आफैँ एउटा अधिकारविहीन महामन्त्रीजस्तो मात्रै थिए । पार्टीभित्रै देउवा र महतले नपत्याएका उनलाई अरूले पनि पत्याएनन् । कसैले पनि चुनावपछिको स्थिति देखेन, चुनावमात्रै देख्यो । एउटा अर्को अवसर खेर गयो । पहिलो अवसरचाहिँ आन्दोलनकै दिन लिखित सम्झौता नगरेर खेर गएको थियो ।

सिस्टम सुधार गर्ने चाहना सबैको हुन्छ । त्यसका बिन्दु र प्रक्रियाबारे कमलाई मात्रै जानकारी हुन्छ । धेरै नेता असफल हुने नियतले मात्रै होइन, प्रक्रियाको जटिलता केलाउन नसकेर पनि हो । अबको विकल्प भनेको जनदबाब, सहकार्य र राष्ट्रिय सहमति नै हो । परस्पर दोषारोपण र घृणाले तुष्टि हुने भनेको ईगो मात्रै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *