काठमाडौं । नेकपा एमालेले राष्ट्र निर्माणको अभियान सफल बनाउन आह्वान गरेको छ । प्रेस संयोजक मीनबहादुर शाहीले शनिबार विज्ञप्ति जारी गरी एमालेले अघि सारेको विचार, सिद्धान्त र नीतिलाई सफल बनाउन आह्वान गरेका हुन् ।
उनले एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको सुदृढीकरणमार्फत समृद्धि हासिल गर्ने दीर्घकालीन सोचसहित अघि बढ्ने सङ्कल्प लिएको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘देशको लोकतान्त्रिक अभ्यास र दीर्घकालीन राष्ट्रिय हितमाथि क्षणिक तथा भावनात्मक लोकप्रियताले गम्भीर प्रभाव पार्न सक्ने यथार्थप्रति हामी गम्भीर ध्यान आकर्षण गराउन चाहन्छौँ । राजनीतिमा देखापर्ने लोकप्रियतावाद प्रायः भ्रमपूर्ण हुने र यसले नीति, स्थायित्व तथा सुशासनमा नकारात्मक असर पार्ने जोखिम रहन्छ ।’
उनले रेमिट्यान्स, ज्ञान, सीप, अनुभव र अन्तर्राष्ट्रिय सञ्जालमार्फत मातृभूमिप्रति देखाइएको प्रतिबद्धता राष्ट्र निर्माणको महत्त्वपूर्ण आधार बनेको उल्लेख गरेका छन् । उनले युवाशक्ति राष्ट्रको वर्तमान र भविष्य दुबैको लागि महत्वपूर्ण साझेदार शक्ति हो भन्ने कुरामा दृढ विश्वास राख्ने उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘युवाशक्ति राष्ट्रको वर्तमान र भविष्य दुबैको लागि महत्वपूर्ण साझेदार शक्ति हो भन्ने कुरामा हामी दृढ विश्वास राख्दछौं । देशभित्र वा विदेशमा रहेर श्रम, सीप, ज्ञान र सिर्जनशीलता प्रयोग गरिरहेका नेपाली युवाहरूले राष्ट्रप्रति देखाएको प्रतिबद्धता अत्यन्तै प्रेरणादायी छ । राजनीतिलाई केवल आलोचना वा असन्तोषको माध्यम होइन, समाधान, नवप्रवर्तन र विकासको सशक्त औजारका रूपमा अघि बढाउन युवाको सक्रिय भूमिका अपरिहार्य छ । त्यसका लागि नीति, नेतृत्व र अवसरको संगम आवश्यक छ, जसको दिशामा अगाडि बढ्न नेकपा (एमाले)ले आफ्नो महाधिवेशनबाट नीतिगत निर्णय गरी प्रतिबद्धता जनाइसकेको छ ।’
एमालेले आगामी निर्वाचनमा सम्पूर्ण युवाशक्तिलाई नेकपा (एमाले) सँग साझा यात्रा र सहकार्य गर्दै सूर्य चिन्हमा मतदानको लागि आह्वान गरेको छ ।


