-डा. जीवन क्षेत्री
‘पूर्वराजालाई स्वागत गर्न विमानस्थलमा ठूलो भीड जम्मा भयो । त्यसैले अब राजतन्त्र फर्किहाल्छ, राजालाई स्वागत गर्न दरबार पुछपाछ गरौं।’ सायद रविन्द्र मिश्रहरूले यस्तो फत्तुर लगाउन सुरु गरिसके होलान् । तर एकचोटी ठण्डा दिमागले सोचौं त । के यो गणतन्त्रको असफलता हो ? धेरैले यस्तै दाबी गर्छन् तर यथार्थ ठ्याक्कै उल्टो हो । गणतन्त्रमा गणतन्त्रको समर्थन गर्न पनि पाइन्छ विरोध गर्न पनि पाइन्छ। राजतन्त्रको जयगान गाउन पनि पाइन्छ। हिंसा वा हिंसाको धम्की प्रयोग नगर्दासम्म यो व्यवस्थामा जति पनि बोल्न पाइन्छ, जति पनि संगठन गर्न पाइन्छ। लस्कर लागेर कसैलाई पनि स्वागत गर्न पाइन्छ।
२०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले कु गरेर आफ्नै नेतृत्वमा मन्त्रिपरिषद् गठन गरे पछाडिको अवस्था एकचोटी सम्झौं त, टेलिफोन र मोबाइल अवरुद्ध थिए। पत्रिका र टेलिभिजनका न्युजरुमहरुमा हतियारधारी सैनिक थिए । सम्पादकको ठाउँमा सेनाको कुनै अधिकारी थियो । एफएमहरुमा मनोरञ्जनमूलक कार्यक्रमबाहेक कुनै पनि समाचार बजाउन निषेध थियो। नेताहरू धमाधम जेल जाँदै थिए । सहरका सडकहरूमा मसानघाटको जस्तो शान्ति थियो। गाउँमा बन्दुकहरूको आतंक थियो । कल्पना गर्नुस् त, त्यो बेलामा कुनै पूर्वप्रधानमन्त्री काठमाडौँ विमानस्थलमा झर्दा उनका समर्थकले जुलुस निकालेर स्वागत गर्न पाउँथे ?
त्यसैले पूर्वराजालाई स्वागत गर्न ठूलो भीड आयो भनेर गणतन्त्र असफल भयो भन्ने दाबी गर्नु बेकार हो । यो राजतन्त्रको लहर होइन, गणतन्त्रको सुन्दरता हो । आत्मविश्वास हो। एउटा नागरिकको रुपमा ज्ञानेन्द्र शाहको देशको जुनसुकै भागमा जाने अधिकार छ । उनका समर्थकहरूको पनि शान्तिपूर्वक जत्रो जुलुस निकालेर पनि स्वागत गर्ने अधिकार छ, जबसम्म उनीहरू देश जलाएर गणतन्त्र मास्ने सपना देख्दैनन् । आउनुस् गणतन्त्रको यो खुलापनलाई सलाम गरौं ।
