अष्ट्रेलियाका विश्वविद्यालयमा कर्मचारीको मानसिक स्वास्थ्य जोखिम बढ्दै

क्यानबेरा । अष्ट्रेलियाको उच्च शिक्षा क्षेत्रमा कार्यरत कर्मचारीहरूको मानसिक स्वास्थ्य र ‘मनोसामाजिक’ सुरक्षामा गम्भीर समस्या देखिएको एक नयाँ प्रतिवेदनले जनाएको छ । एडेलेड विश्वविद्यालयले सार्वजनिक गरेको उक्त अध्ययनले सुरक्षा प्रणालीको कमजोरीका कारण उच्च र अत्यन्त उच्च स्तरको मनोसामाजिक जोखिम बढिरहेको उल्लेख गरेको छ ।

अष्ट्रेलियन अनुसन्धान परिषद्को आर्थिक सहयोगमा गरिएको विश्वविद्यालय कर्मचारी कल्याणसम्बन्धी राष्ट्रिय सर्वेक्षणअनुसार कमजोर व्यवस्थापकीय सहयोग, कर्मचारीको हितलाई पर्याप्त प्राथमिकता नदिनु, सीमित संवाद र परामर्श प्रक्रिया तथा मनोसामाजिक जोखिमको पहिचान र व्यवस्थापनमा कमी हुनु प्रमुख कारणका रूपमा देखिएको छ ।

अध्ययनमा सहभागी ८० प्रतिशतभन्दा बढी कर्मचारीहरूले आफूहरू अत्यधिक ‘भावनात्मक’ थकानमा रहेको बताएका छन् । मूल्याङ्कन गरिएका सबै ३६ विश्वविद्यालयमा अत्यन्त उच्च मनोसामाजिक सुरक्षा जोखिम भेटिएको छ, जुन सामान्य कार्यक्षेत्रको तुलनामा दोब्बरभन्दा बढी हो ।

मनोसामाजिक सुरक्षा वातावरणको सूचकाङ्कमा अग्रस्थानमा रहेका विश्वविद्यालयहरूमा चाल्र्स डार्विन विश्वविद्यालय, न्युभाउल्स वेल्स विश्वविद्यालय र क्वीन्सल्याण्ड विश्वविद्यालय रहेका छन् ।

मुख्य अनुसन्धानकर्ता प्राध्यापक मोरेन डलार्डले कर्मचारीहरूको मानसिक स्वास्थ्य सुरक्षाका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याएको छ । उनले उत्पादनमुखी व्यवस्थापनभन्दा कर्मचारी कल्याणमुखी व्यवस्थापन पद्धति अपनाउनुपर्नेमा जोड दिए ।

अष्ट्रेलियाको कार्य स्वास्थ्य तथा सुरक्षा सम्बन्धी कानुनअनुसार विश्वविद्यालयहरूले मनोसामाजिक जोखिमको रोकथाम र उचित व्यवस्थापन गर्नु अनिवार्य दायित्व हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *