काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी जसपाले घोषणापत्र सार्वजनिक गरेको हो । जसपाले आफ्नो घोषणापत्रमा हालको संविधानले निकास नदिने भन्दै उच्चस्तरीय संविधान पुनरावलोकन आयोग गठन गर्न माग गरेको छ ।
जसपाले शासकीय स्वरूपमा परिवर्तन, राष्ट्रिय पहिचानमा सङ्घीयता र प्रादेशिक संरचना निर्माण, न्याय प्रणालीलाई सङ्घीय स्वरूपमा पुनर्संरचना गर्न, संवैधानिक निकायलाई बलियो बनाउन, जनलोकपालजस्ता निकाय गठन गर्नुपर्ने आवश्यकता रहेको जनाएको छ ।
‘यसले केवल प्रशासनिक सङ्घीयताको पक्षपोषण गरेको छ । यसैले मुलुकको विद्यमान शासकीय स्वरूप, निर्वाचन प्रणाली तथा न्याय प्रणालीलाई यथावत् राखेर सङ्घीय समाजवादी व्यवस्थाको आधारशिला खडा हुन सक्दैन’, जसपाको भनाइ छ ।
साथै, जसपाले आफ्नो घोषणापत्रमा शिशु कक्षादेखि उच्च शिक्षासम्म एकरूपता,प्रविधिमैत्री, निःशुल्क, सिपमूलक र गुणस्तरीय सार्वजनिक शिक्षा प्रणाली विकास गर्ने जनाएको छ । यसबाहेक जसपाले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउने, २०४७ सालदेखि हालसम्म भएका निर्वाचित जनप्रतिनिधिहरू, प्रधानमन्त्री, मन्त्री, उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्ने जनाएको छ ।
जसपाले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क (फ्रि भिसा र फ्रि टिकट) रोजगारी प्रदान गर्ने नीति लागू गर्ने जनाएको छ । त्यसबाहेक वैज्ञानिक भूउपयोग भूमिसुधार र भू–व्यवस्थापन नीति लागू गर्ने, कृषि जमिनको चक्लाबन्दी र कृषिको आधुनिकीकरण गर्ने जनाएको छ ।
जसपाले आफ्नो घोषणापत्रमा गरिबीको रेखामुनि रहेका जनसङ्ख्यालाई आगामी ५ वर्षभित्र १० प्रतिशतमा ल्याउने जनाएको छ ।
उसले कांग्रेस र कम्युनिस्टको चरित्र नेपालमा राजनीतिक अस्थिरता निम्त्याउने भएको आरोप लगाएको छ ।
घोषणापत्रमा भनिएको छ, ‘शताब्दिऔँदेखिको एकात्मक राज्य शासन व्यवस्थाको संघीय स्वरूपमा पुनर्संरचना भएसँगै नेपालको मौजुदा राजनीतिक शक्तिहरू परम्परागत शक्तिमा रूपान्तरित भए। ती आफ्नै एजेन्डामा टिक्न सकेनन् र परिवर्तनका एजेन्डाहरूबाट टाढिँदै गएका छन् । साम्यवादी लक्ष्य बोकेका कम्युनिस्ट नामका विभिन्न घटकहरू तथा नवउदारवादी पूँजीवादी व्यवस्थाको रक्षालाई नै आफ्नो ध्येय ठान्ने नेपाली कांग्रेसको राजनीतिक चरित्र भनेको सत्ता प्राप्ति गर्ने, सत्ताको बलमा शक्ति आर्जन गर्ने, शक्तिले साधन स्रोतमाथि आफ्नो आधिपत्य जमाउने र त्यो आधिपत्यका लागि राजनीतिक अस्थिरता निम्त्याउनु रहन गयो।’
