ढाका। बंगलादेशको प्रमुख विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) संसदीय चुनावमा ऐतिहासिक जिततर्फ अग्रसर देखिएको छ । बिहीबार भएको चुनावमा २९९ सिटमा १६५ सिट जितेको हो । बंगलादेशमा ३०० सिटमध्ये २९९ सिटमा चुनाव भएको थियो । यो चुनावमा पार्टीको नेतृत्व पहिलोपटक तारिक रहमानले गरेका छन् र उनले स्वयं पनि पहिलोपटक संसदीय प्रतिस्पर्धामा भाग लिएका हुन् ।
तारिकको नेतृत्वमा बीएनपीले स्पष्ट अग्रता लिइरहेका बेला उनी बंगलादेशका सम्भावित नयाँ प्रधानमन्त्री बन्न सक्ने चर्चा तीव्र भएको छ। यद्यपि, यो चुनाव शेख हसिनाको नेतृत्वमा रहेको आवामी लिगलाई सहभागी हुन नदिइएको अवस्थाबीच सम्पन्न भएको हो।
चुनाव हुन केही महिना मात्र बाँकी रहँदा आफ्नी आमा तथा पूर्व प्रधानमन्त्री खालिदा जियाको निधनपछि तारिकले पार्टीको औपचारिक कमाण्ड सम्हालेका थिए । पार्टीका संगठनात्मक कार्यक्रमदेखि सम्पूर्ण चुनावी अभियानसम्म उनको प्रत्यक्ष निगरानीमा सञ्चालन भएको बीएनपीले जनाएको छ।
बीएनपीले तारिकलाई पार्टीको एकमात्र नेताका रूपमा अघि सारेको छ। समर्थकहरूले उनलाई बंगलादेशको भावी प्रधानमन्त्रीका रूपमा चित्रण गरिरहेका छन् ।
तारिक रहमान करिब १७ वर्ष लन्डनमा राजनीतिक शरणमा बसेका थिए। सन् २००७ मा सेनाको समर्थनमा बनेको कार्यवाहक सरकारका बेला उनी भ्रष्टाचारको आरोपमा पक्राउ परेका थिए। करिब १८ महिना जेल जीवन बिताएपछि सन् २००८ सेप्टेम्बरमा रिहा भई परिवारसहित लन्डन गएका थिए।
गत वर्ष डिसेम्बरमा उनी करिब १७ वर्षपछि ढाका फर्किएका थिए। खालिदा जियाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि डिसेम्बर २६ मा ढाका फर्किएका तारिक, त्यसको केही दिनपछि डिसेम्बर ३० मा आमाको निधनसँगै राष्ट्रिय राजनीतिमा पुनः सक्रिय बनेका हुन्। यस वर्ष जनवरी ९ मा बीएनपीको राष्ट्रिय स्थायी समितिले औपचारिक रूपमा उनलाई पार्टी अध्यक्ष चयन गरेको थियो।
