जनरल बर्खास्तप्रति सीको टिप्पणीः भ्रष्टाचारविरुद्धको सङ्घर्षमा क्रान्तिकारी परिष्कार

बीबीसी । चीनका राष्ट्रपति सी जिनपिङले चिनियाँ सेनाका वरिष्ठतम जनरललाई पदबाट हटाउने गरी भएको कारबाहीबारे पहिलो पटक सार्वजनिक टिप्पणी गरेका छन् ।

गत महिना चीनको जनमुक्ति सेना पीएलएका वरिष्ठतम जेनरल जाङ योशिया बर्खास्त भए। उनलाई सीसँग निकट मानिन्थ्यो। उनीमाथि ‘अनुशासन र कानुनको गम्भीर उल्लङ्घन’ गरेको आरोप लागेको थियो। चीनमा उक्त पदावलीलाई प्रायजसो भ्रष्टाचारको आरोप लगाउँदा पर्यायका रूपमा प्रयोग गरिन्छ । म

ङ्गलबार एउटा भर्चूअल भाषणमा सीले गत वर्ष ‘अस्वाभाविक र असाधारण’ रहेको भन्दै सेनाले ‘भ्रष्टाचारविरुद्धको सङ्घर्षमा क्रान्तिकारी परिष्कार’ गरेको बताए । राष्ट्रपति बनेदेखि नै सी जिनपिङले भ्रष्टाचारविरुद्ध विभिन्न अभियान सञ्चालन गरेका छन् ।

यद्यपि केही विश्लेषकहरूले सीको त्यस्तो अभियान आफ्ना राजनीतिक प्रतिद्वन्द्वीलाई निस्तेज पार्ने अस्त्र भएको बताउने गरेका छन् । मङ्गलबारको भाषणमा सीले पीएलएले ‘कैयौँ जोखिम र चुनौतीहरू’ प्रभावकारी तरिकाले सम्बोधन गरेको अनि सेनामा भएका धेरै जनाको ‘गहिरो राजनीतिक शुद्धीकरण’ भएको बताए ।

उनले पीएलएका सैनिकहरू ‘पार्टीप्रति निष्ठावान’ रहेको र तिनले आफूलाई ‘सक्षम र विश्वसनीय’ प्रमाणित गरेको बताए । आसन्न चिनियाँ नववर्षका अवसरमा पीएलएलाई दिएको शुभकामना सन्देशमा सीले सेनाभित्र गरिएको कारबाहीबारे अर्थपूर्ण टिप्पणी गरेका हुन्। वार्षिक शुभकामना सन्देशमा सीले सन् २०२२ पछि पहिलो पटक भ्रष्टाचारबारे बोलेका हुन् ।

कारबाहीमा परेका जाङ योशिया चिनियाँ सेनामा निकै शक्तिशाली मानिने केन्द्रीय सैन्य आयोग सीएमसीका उपाध्यक्ष थिए । सीएमसीको अध्यक्षता सी आफैँ गर्छन् । जाङ योशियासँगै अर्का वरिष्ठ सैन्य अधिकारी जनरल लिउ जेन्लीलाई पदबाट हटाइएको थियो ।

त्यसअघि अक्टोबर २०२५ मा सीएमसीका केही सदस्यहरूसहित नौ वरिष्ठ जनरलहरू बर्खास्त भएका थिए। त्यतिबेला सरकारी अधिकारीहरूले उनीहरूलाई भ्रष्टाचारविरुद्धको अभियानअन्तर्गत कारबाही गरिएको बताएका थिए । तीन वर्षमा १४ चिनियाँ जनरलहरू या त पदमुक्त भएका वा अनुसन्धानमा परेको अभिलेखले देखाउँछ । अहिलेका कारबाहीपछि सातसदस्यीय सीएमसीमा अब सीसहित दुई जना मात्र बाँकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *