-उत्तमबाबु श्रेष्ठ ।
चुनाव, सञ्जाल, सञ्चारमाध्यम र सार्वजनिक बहस—सबैको ‘गोबरीकरण’ (Enshittification) भएको जस्तो मलाई मात्र लागेको हो कि अरूलाई पनि त्यस्तै लाग्दैछ ? प्रविधि क्षेत्रका आलोचक/लेखक कोरी डक्टर (Cory Doctorow) ले सन् २०२२ मा यो शब्द वा वाक्यांशलाई अंग्रेजी भाषामा भित्राएका हुन्। मानिसले प्रयोग गरिरहेका डिजिटल सेवाहरू समयक्रममा एकैसाथ नभई नहुने पनि हुनु र झन् झुर (खराब) हुँदै जानुलाई उनले यो नाम दिएका हुन्, जसलाई मैले नेपालीमा ‘गोबरीकरण’ भन्ने कोसिस गरेको छु (यो मेरो व्यक्तिगत भावार्थ हो यसअघि यो शब्द नेपाली मिडियामा प्रयोग गरिएको देखेको छैन्) । त्यसको कारण, मलाई मेरा स्कुले शिक्षकले हाम्रा बालसुलभ चकचक र छुकछुक देखेर ’तेरो दिमागमा गोबर भरिएको छ’ भन्नुहुन्थ्यो। त्यो भनेको दिमागमा रद्दी कुराहरू छन् भन्नुभएको होला जस्तो लाग्छ अहिले । हो, अहिले इन्टरनेट, सामाजिक सञ्जाल र अनलाइन सपिङका साइटहरू सबैमा गोबर भरिएका छन्, अर्थात् ’एन्शिटिफिकेसन’ भएको छ, त्यहाँ उपयोगी कुरा कम रद्दी र झुर, बेकामे कुराहरू बढी छन् ।
डक्टरका अनुसार, कुनै मान्छेले अहिले छिनछिनमै प्रयोग गर्ने गुगल सर्चमा विज्ञापन र कम्पनीहरूका लिङ्कहरू माथि देखिने तर खोजेको कुरा नभेटिने हुनु यसैको ताजा उदाहरण हो गुगल झुर भएको । सार्वजनिक बहस र छलफलका लागि चर्चित ट्विटर ‘एक्स’ (x) भएपछि अतिवादी विचारको थलो बन्नु पनि यसैको कडी हो। उनले आफ्नो पुस्तक ‘EnshittificationM Why Everything Suddenly Got Worse and What to Do About It’ मा कुनै चिजको गोबरीकरण तीन चरणमा हुने बताएका छन्।
पहिलो चरणमा प्रविधि कम्पनीहरू प्रयोगकर्ताहरूका लागि असल र उपयोगी बन्छन्।
यसले मानिसहरूलाई सम्पर्क वा सुविधाको वाचा देखाएर ठूलो संख्यामा आकर्षित गर्दछ। जस्तैः फेसबुकले सुरुवाती दिनमा कयौँ वर्ष भेट नभएका साथीहरू भेटाएर, उनीहरूका तस्बिर देखाएर र उनीहरूबीच संवाद गराएर कमाल गरेको थियो। दोस्रो चरणमा, जब ठूलो संख्याका प्रयोगकर्ताहरू उक्त प्रविधि कम्पनीका सेवाग्राही बन्छन्, तब उनीहरू ‘व्यापारिक ग्राहक’का लागि राम्रो बन्न पुग्छन्। उनीहरूले आफ्ना सुविधाहरूमा सम्झौता गर्दै आफूलाई विज्ञापन दिएर वा सूचना बेचेर पैसा दिने कम्पनीहरूलाई मात्र उक्त प्लेटफर्म उपलब्ध गराउँछन्। अहिले फेसबुकमा विज्ञापनको ‘फिड’ यति धेरै हुनुको कारण यही हो। र, तेस्रो चरणमा प्रविधि कम्पनीले उक्त प्लेटफर्म प्रयोग गर्दाको अनुभवलाई ’गोबरको थुप्रो’मा बसेको जस्तो, अर्थात् गन्हाउने बनाइदिन्छ। कम्पनीलाई धनी बनाउन उक्त प्लेटफर्म प्रयोगकर्ता र व्यवसायी दुवैका लागि झुर बन्न पुग्छ, जुन अहिले भइरहेको छ।
अहिले नेपालमा हुन लागेको चुनावमा विभिन्न थरिका उम्मेदवारहरू, उनीहरूका प्रचार शैली र प्रचार संयन्त्रले चुनावको पनि ‘गोबरीकरण’ भएको अनुभूति भइरहेको छ। कुनै बेला सबैभन्दा प्रजातान्त्रिक ठानिएको इन्टरनेट अहिले गोबरले भरिएजस्तै, प्रजातान्त्रिक प्रणालीको चुनाव पनि गोबर बन्दै गएको मलाई प्रतीत भइरहेको छ। तपाईंहरूको अनुभव कस्तो छ ?
