दुबई । इरानले सन् १९७९ को इस्लामिक क्रान्तिको ४७औँ वार्षिकोत्सव बुधबार मनाएको छ, तर देश भित्री असन्तोष र बाह्य दबाबका कारण संवेदनशील अवस्थामा रहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा अर्को विमानवाहक समूह पठाउने संकेत गगरेका छन् भने इरानभित्र हालै भएका विरोध प्रदर्शनमाथि गरिएको कठोर दमनको अन्तर्राष्ट्रिय आलोचना जारी छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको वासिङ्टन भ्रमणको सन्दर्भमा ट्रम्पले तेहरानसँग सम्भावित नयाँ आणविक सम्झौतामा कडा सर्त राख्नुपर्ने धारणा व्यक्त गरेका थिए। यसैक्रममा, पछिल्लो चरणको वार्तामा मध्यस्थता गरेको ओमान भ्रमणपछि एक वरिष्ठ इरानी सुरक्षा अधिकारी कतार पुग्ने कार्यक्रम रहेको जनाइएको छ ।
राज्य सञ्चारमाध्यमहरूले तेहरानसहित देशभर हजारौँ समर्थकहरू सडकमा उत्रिएको दृश्य प्रसारण गरेका छन्, जहाँ इस्लामिक गणतन्त्र र ८६ वर्षीय सर्वोच्च नेता अयातुल्ला अली खामेनीप्रति समर्थन जनाइएको छ । यद्यपि राजधानी तेहरानमा केही स्थानबाट ‘तानाशाह मूर्दावाद’ जस्ता नारासमेत सुनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
सडक प्रदर्शनमा सहभागीहरूले इरानी र प्यालेस्टिनी झण्डासहित खामेनी तथा इस्लामिक गणतन्त्रका संस्थापक आयातोल्लाह रुहोल्लाह खोमेनीका तस्बिर बोकेका थिए । कतिपयले ‘अमेरिका मूर्दावाद’ र ‘इजरायल मूर्दावाद’ जस्ता नारा लगाएका थिए ।
सुधारवादी राष्ट्रपति मसुद पेजेस्कियानले तेहरानको आजादी स्क्वायरमा सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । उनले यसअघि विदेशमन्त्रीलाई अमेरिकी पक्षसँग वार्ता अघि बढाउन निर्देशन दिएका थिए ।
आठ करोड ५० लाख जनसङ्ख्या भएको इरानमा शासनप्रति बलियो समर्थन गर्ने समूह अझै सक्रिय रहेको छ, जसमा अर्धसैनिक क्रान्तिकारी गार्डका सदस्यहरू पनि पर्छन् । हालैको दमनमा हजारौँ पक्राउ परेका र कैयौँ मारिएका विवरण सार्वजनिक भएका छन् । केही नागरिकहरू सरकारी कर्मचारी भएकाले वा सरकारी प्रायोजनमा आयोजित कार्यक्रमको वातावरणका कारण पनि समारोहमा सहभागी हुने गरेका छन् ।
स्मरणोत्सवपछि वरिष्ठ सुरक्षा अधिकारी अली लारिजानी ओमानबाट कतारतर्फ प्रस्थान गर्नुभएको छ । कतारले अमेरिकी सैन्य आधार होस्ट गर्दछ, जसलाई इरानले गत जुनको १२ दिने इरान–इजरायल युद्धको क्रममा आक्रमण गरेको थियो । कतार विगतमा इरानसँग वार्तामा महत्त्वपूर्ण मध्यस्थकर्ता रहँदै आएको छ ।
रूसी सञ्चारमाध्यमसँग कुरा गर्दै विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाप्रति पूर्ण विश्वास नरहेको बताका छन्। गत जुनमा वार्ताकै बीचमा आक्रमण भएको अनुभव अत्यन्तै नकारात्मक रहेको उनको भनाइ थियो । भविष्यमा त्यस्तो अवस्था दोहोरिन नदिन ग्यारेन्टी आवश्यक रहेको र त्यसमा धेरै हदसम्म अमेरिका जिम्मेवार हुने उनले उल्लेख गरे । यद्यपि उनले सन् २०१५ को आणविक सम्झौताभन्दा अझ राम्रो सहमति सम्भव हुन सक्ने संकेत गरेका छन् ।
संयुक्त राज्य अमेरिकाले युएसएस अब्राहम लिङ्कनसहितका युद्धपोत र लडाकू विमानहरू यसअघि नै मध्यपूर्वमा तैनाथ गरिसकेको छ । ट्रम्पले आवश्यक परे दोस्रो विमानवाहक पनि पठाउन सकिने बताए ।
कुन जहाज पठाइने हो भन्ने स्पष्ट नभए पनि युएसएस जर्ज एच. डब्ल्यु. बुश र युएसएस जेराल्ड आर. फोर्ड क्षेत्रीय गतिविधिसँग जोडिएका नामका रूपमा उल्लेख भएका छन् ।
