काठमाडौँ । अख्तियार प्रमुख प्रेमकुमार राईसहितका उच्च अधिकारीलाई मार्ने धम्की दिने प्रकाश पाठकलाई नेपाल ल्याइएको छ ।
अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोगमा उनलाई पक्राउ गरी बुधबार नेपाल ल्याइएको हो । पाठकविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी गरिएको थियो । त्यसपछि फिलिपिन्समा उनी पक्राउ परेका थिए ।
उनलाई लिन नेपाल प्रहरीको टोली फिलिपिन्स गएको थियो । पाठकलाई प्रहरीले फिलिपिन्सबाट नेपालमा फिर्ता ल्याएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिएका छन् ।
पाठकले अख्तियार प्रमुख प्रेम राई, अख्तियारका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्की, आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का, पूर्वगृहमन्त्री रमेश लेखक, बालकृष्ण खाण, नेतृ डा. आरजु राणा, पूर्वप्रहरी प्रमुअ ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिएका थिए ।
