हामी सबैको प्रयास र उद्देश्य फेरि अर्को भदौ २३-२४ नदोहोरियोस् भन्ने नै हुनुपर्छ

-नारायण गाउँले ।

७३ जनाको हत्या भन्दै गर्दा त्यो सङ्ख्याभित्र जेल तोडेर भाग्दै गरेकादेखि राष्ट्रिय र निजी सम्पत्तिमाथि आगो झोस्दै गरेकासम्म पनि हुन सक्छन् भन्ने बिर्सिन हुन्न । छानबिन समितिको रिपोर्टले धेरै कुरा खोल्नेछ भन्ने आश गरौँ । अझ बिर्सिनै नहुने त तँ डीएसपी होस् भन्दै बीच सडकमा निमर्म र निर्घात रूपले कुटीकुटी मारिएका दार्चुलाका प्रहरी जवान उत्तम थापा पनि हुन् । आन्दोलनकारीले भिडियो नै बनाएर मान्छे मार्ने क्रूरता हाम्रै देशको हो भन्दा अलिकति ग्लानी हामी सबैलाई लाग्नै पर्छ । घरभित्रै थुनेर आगो लगाइएकी झलनाथ खनालकी श्रीमतीलाई पनि बिर्सिन हुँदैन । जीवनभर क्याम्पसमा विज्ञान पढाएकी र कहिल्यै राजनीतिको मञ्चमा नदेखिएकी उनी आज अनुहार र अङ्ग गुमाएर अर्धजीवित छन् । यस्तो अमानवीय क्रूरता हाम्रो संस्कार र संस्कृति होइन ।

माओवादी युद्धमा १७ हजार मान्छेको ज्यान गयो । पेट पाल्न प्रहरीको जागीर खाएकै भरमा कतिको सफाया भयो । दशैँ मनाउन घरमा आएको जवानदेखि किरिया बसेको सैनिकसम्म मारिएको घटना हाम्रै देशको हो । कति निर्दोष नागरिक माओवादीको नाममा या सरकारको सुराकी भन्दै मारिए । देशको अर्थतन्त्र एक दशकसम्म ठप्प भयो । तर ती सबैको जिम्मा राजा वीरेन्द्र या गिरिजाप्रसाद कोइरालालाई मात्रै दिने हो भने कति न्याय होला ? प्रचण्ड या बाबुरामको कत्ति पनि जिम्मेवारी नहोला ?

१९ जना कलिला युवाहरू मारिँदा केपी ओली सत्ताको नेतृत्वमा थिए । सरकार संलग्न हरेक घटनाको नैतिक जिम्मेवारी उनकै हो । सरकारका राम्रा र नराम्रा हरेक कामको जिम्मेवारी नलिने हो भने गैरजवाफदेहिता हुन्छ । त्यस्तो गैरजवाफदेही व्यक्ति राजनीति गर्न योग्य हुँदैन । तर आफैले बनाएको छानबिन समितिको निष्कर्ष नआउँदै गोली चलाउने आदेश उनैले दिएका हुन् या बन्दुक बोकेरै सडकमा गएका हुन् झैँ उनको अनुहारभरि रगत पोतेर प्रचार गर्नु पनि राजनीतिक संस्कार होइन । उनको अकर्मण्यता र सत्तालिप्साको विरोध जायज होला तर २३–२४ को सबै दोष उनकै टाउकोमा मात्रै हालेर अन्यलाई एडभान्समै सफाइ दिनु पनि उत्तिकै गलत हो ।

टाउकोमै ताकेर निर्मम गोली हानिएका १९ जना युवादेखि अत्यन्त क्रूरतापूर्वक सडकमैं हत्या गरिएका प्रहरी जवानसम्म र राष्ट्रिय सम्पदादेखि उद्योगधन्दासम्म आगो झोस्ने सबैलाई छानबिन र कारवाही गर्नु जरूरी छ । केपी ओलीको चित्रपछाडि अरू सबै अपराध लुकाउने प्रयास भयो भने न यो देशमा फेरि औद्योगिक गतिविधि माथि उठ्नेछ न स्थिर शान्ति नै हासिल हुनेछ । वैदेशिक लगानी त परको कुरा भयो, अपराधीहरू जेलबाहिर आएपछि यतिबेला धेरै देशको भिजिट भिसा पाउन पनि मुश्किल छ । हामी सबैको प्रयास र उद्देश्य फेरि अर्को २३–२४ नदोहोरियोस् भन्ने नै हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *